
काठमाडौं — चीनकी प्रख्यात मोडल तथा फिल्म स्टार फान बिङबिङलाई अधिकारीहरूले सामाजिक उत्तरदायित्वमा शून्य प्रतिशत स्कोर दिएका छन् । यी स्टारलाई अधिकारीहरूले हिरासतमा राखेको हुन सक्ने आशंका बढेको छ ।
सरकारी पत्रिका चाइना डेलीका अनुसार, सन् २०१४ को हलिउड फिल्म 'एक्स मेन : डेज अफ फ्युचर पास्ट'मा देखिएकी बिङबिङको व्यावसायिक जीवन, परोपकार र व्यक्तिगत इमान्दारीको मापदण्डमा सयजना सेलेब्रिटीको सूचीमा
सबभन्दा तल राखिएको छ ।
बेइजिङ नर्मल विश्वविद्यालयका प्राज्ञिकहरूले तयार पारेको प्रतिवेदन चाइना फिल्म एन्ड टेलिभिजन स्टार सोसल रेस्पोन्सिबिलिटी सन् २०१७–१८ लाई सरकारी मिडियाले शेयर गरेको छ ।
बिङबिङ चीनमा सर्वाधिक कमाइ गर्ने स्टार हुन् । चार महिनाअघि उनलाई एक टीभी प्रेजेन्टरले करछलीको आरोप लगाएका थिए ।
बिङबिङको स्टुडियोले चाहिँ कुनै पनि किसिमको गडबडी नभएको बताएको थियो । अहिले चीनका इन्टरनेट प्रयोगकर्ताहरू करछलीको आरोप र शून्य सामाजिक उत्तरदायित्व रेटिङलाई एकैचोटि जोडेर हेरिरहेका छन् ।
करछलीको आरोपपछि बिङबिङ रहस्यमयी रूपमा हराइन् । उनलाई जुलाई १ पछि देखिएको छैन । त्यतिखेर उनले बालबालिकाको एक अस्पताल भ्रमण गरेकी थिइन् ।
चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको र उनले कानूनी निर्णयलाई स्वीकार गर्ने बताएको सरकारी प्रशासन सेक्युरिटी डेलीले रिपोर्ट अघिल्लो हप्ता छापेको थियो । रिपोर्टमा करछलीको विषय त शुरूआत मात्र भएको लेखिएको थियो । तर प्रकाशनको केही घन्टापछि यो स्टोरी हटाइएको थियो ।
एजेन्सी