
काठमाडौं – विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर शिक्षक/प्रध्यापकहरूको अन्तर्राट्रिय केन्द्र विश्व शिक्षक महासंघ (फिजे) को एसिया प्रशान्त क्षेत्रीय कमिटी बैठकमा भाग लिन नेपालका तर्फबाट ६ वटा शिक्षक संगठनका १५ जना शिक्षक श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन् ।
नेपाली टोलीमा विश्वविद्यालय प्राध्यापक तथा विद्यालय शिक्षक एशोसिएसन (उस्टान)का अध्यक्ष रामकुमार बान्तवा राई र उपाध्यक्षहरू नविन पौडेल र कविता लुईटेल भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरू कृष्णदत्त जोशी, ऋषिराम चापागाई र महासचिव निमबहादुर के.सी., माध्यमिक विद्यालय शिक्षक एशोसिएसनका अध्यक्ष पुष्प न्यौपाने, वरिष्ट उपाध्यक्ष ऋषिराम कंडेल र महासचिव विक्रम पोख्रेल, अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरू गंगाप्रसाद पौडेल, कमला बञ्जाडे भुषाल, अखिल नेपाल शिक्षक संगठनबाट उपाध्यक्षहरू लक्षीराम ढकाल, शंकरप्रसाद ढकाल र महासचिव रमेश रुपाखेती र नेपाल शिक्षक महासंघ (सीएनटी) बाट उपमहासचिव दिनानाथ तिमल्सिना छन् ।
आज (शुक्रवार)देखि शुरू हुने शिक्षकहरूको एसिया प्रशान्त क्षेत्रस्तरीय बैठकमा नवउदारवादी शिक्षा नीतिका कारण शैक्षिक क्षेत्रमा बढिरहेको व्यापारीकरण र निजीकरणका दुष्परिमाणाम, शिक्षक, प्राध्यापकहरूले भोगिरहेका समस्याका विषयमा विस्तृत छलफल हुनेछ ।
विश्व शिक्षक महासंघ सन् १९४५ मा स्थापना भएको हो । यो महासंघ विश्व ट्रेड यूनियन महासंघका १० वटा ट्रेड युनियन इन्टरनेसनल युनियनमध्ये एक हो ।
बैठकमा विश्व ट्रेड युनियन महासंघका महासचिव जर्ज म्याभ्रिकोज र विश्व शिक्षक महासं३का महासचिव मारियोले सम्बोधन गर्ने कार्यक्रम छ ।
श्रीलंका प्रस्थान गर्नेक्रममा शिक्षक नेताहरूलाई बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्व ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले विदाइ गरेका थिए ।