
काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा रिक्त उपकुलपति नियुक्तिका लागि भएको पहिलो चरणको छनोटप्रति सरकारी चिकित्सक संघले विरोध गरेको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहेको समितिले गत मंगलवार उपकुलपति बन्ने निवेदन दिएका २२ मध्ये ६ जनाको नाम छनौट गरेको थियो । पछिल्लोपटक छनोटमा परेका ६ जना चिकित्सकमा न्याम्सका २ जनामात्रै परेका छन् ।
छानिएका ६ जनालाई आगामी आइतवारका लागि आफ्नो अवधारणा प्रस्तुत गर्नका लागि समितिले बोलाएको छ । समितिले छानिएका ६ जनाबाट आइतबार तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने तयारी गरेको छ ।
संघले स्वास्थ्य मन्त्रालय अन्तर्गत नभई बाहिरबाट उपकुलपति नियुक्त गर्न लागेको भन्दै विरोध गरेको हो ।
संघले शुक्रबार बहालवाला सरकारी चिकित्सक छनोट गरिनुपर्ने माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ समेत गरेको छ ।
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले उपकूलपति बहालवाला सरकारी चिकित्सक नै हुनुपर्ने बताए । उनले न्याम्सअन्तर्गत देशको केन्द्रीय अस्पताल वीर अस्पताल रहेको भन्दै त्यहाँ नियुक्त हुने उपकुलपति सरकारी सेवामा लामो समय काम गरेको र वीर अस्पताललाई राम्रोसँग बुझेको हुनुपर्ने बताए ।
‘न्याम्सको उपकुलपति छनोटमा षडयन्त्र भइरहेको छ, २२ जनाले दिवेदन दिएकोमा १६ जना फालिए । छानिएकाहरूमा सरकारी सेवा बाहिरका चिकित्सक पनि छन्,’ डा. पाण्डेले लोकान्तरसँग भने, ‘छनोटमा परेकामध्ये बाहिरका चिकित्सकलाई उपकुलपति बनाउने षडयन्त्र गरिँदै छ । त्यसैले हामीले विरोध गरेका हौं ।’
उनले छनोटमा नपरेका १६ जनालाई विनाआधार विवादित भनिएको भन्दै आपत्ति जनाए । मन्त्रालयले सरकारी सेवा बाहिरका चिकित्सकलाई नियुक्त गरी सरकारी चिकित्सकको मनोबल गिराउने काम गर्न लागेको अरोप लगाए ।
यता उपकुलपति छनोट समितिका सदस्य एवं स्वास्थ्य मन्त्रालयका जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. सुशीलनाथ प्याकुरेल भने संघले विरोध गर्नुको कुनै अर्थ नरेको बताउँछन् ।
‘न्याम्सको उपकुलपति छनोट गर्दा वीर अस्पतालकै हुनुपर्छ भन्ने विधानमा किटान गरिएको छैन,’ उनले लोकान्तरसँग भने, ‘स्पष्ट धारणा भएको योग्य व्यक्तिलाई छनोट गरिने हो । यसमा चिकित्सकहरूले विरोध गर्नुको कुनै अर्थ छैन ।’
न्याम्सको उपकुलपति छानोट समितिमा पूर्व स्वास्थ्य सचिव किरण रेग्मी, डा. भगवान कोइराला, डा. अञ्जनीकुमार झा लगायत १० जना वरिष्ठ चिकित्सक छन् ।