
बुटवल – अहिलेको बुटवल शहरको पुरानो नाम बटौली हो । बटौली भनेर अहिले बुटवल बजारलाई होइन, तिनाउ पारीको पुरानो बजारलाई चिनिन्थ्यो । जहाँ देशका ३५ भन्दा बढी जिल्लाबाट महिनौं लगाएर त्यहीँ बटौली झरेर आफूले पहाडबाट ल्याएको घिउले नुनतेल साटी फर्किन्थे ।
त्यहीँ बटौलीसहित रहेको बुटवल उपमहानगरपालिका विकसित शहर बन्यो । प्रदेशको अस्थायी राजधानी तोकियो नमूना शहर बन्यो । तर, बुटवलभित्रै पनि पुरानो बटौली त्यहीँ २०२०÷२०२२ सालतिर नून ल्याउन आउन बेलामा भन्दा कुनै परिवर्तन आउन सकेको छैन । अर्थात्, विकासमा पुरानो बटौली अर्थात् अहिले भनिन पारी बुटवल सधै पछाडि रहेको परेको छ ।
बुटवल अहिले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बनेको छ । त्योभन्दा अगाडि बुटवल अहिलेको बुटवल बजार क्षेत्रलाई खस्यौली भनिन्थ्यो । उपमहानगरपालिकाको वडा नम्बर १ र २ का केही क्षेत्रहरू जहाँ नगरवासीले नगरपालिकामा हुने सेवासुविधा अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका छन् । जहाँ १ सय वर्ष अगाडि बनेका घरहरू अझै प्रयोगमा छन् ।
बटौलीमा ५ सय वर्ष अगाडि कणेल उजिरसिंहले बस्ती बसालेको इतिहासमा उल्लेख छ । त्यति पूरानो र ऐतिहासिक बजारको संरक्षण र विकासमा स्थानीय तहले अहिलेसम्म खासै काम गरेको देखिँदैन । बाटो साँघुरो छ । जीर्ण पनि छ । फोहोर अव्यवस्थित बसोबाससँगै दुर्गन्धित पनि छ ।
बुटवल वडा नम्बर १ का वडाध्यक्ष महेन्द्र लिगलले बुटवल उपमहानगरपालिकाले पुरानो बटौली बजारलाई संरक्षण र विकास गर्न गुरूयोजना ल्याउन लागेको दाबी गर्छन् । ‘बजारलाई संरक्षण गर्न स्थानीय तह (बुटवल उपमहानगरपालिका) ले गुरूयोजना बनाएर ५० लाख रूपैयाँ विनियोजन गरेको छ,’ अध्यक्ष लिगलले भने, ‘जहाँ नयाँ घरहरू एउटै रंगका बनाइने छ । बटौली संग्रालय बनाउनेदेखि रात्रीकालीन बजार सञ्चालन गर्नेसम्मका कार्यक्रम बुटवल उपमहानगरपालिकाले अगाडि ल्याएको छ ।’
बटौली बुटवल वडा नम्बर १ र २ मा पर्छ । जहाँ एक सयौ घरहरू १ सय वर्ष अगाडि बनेका छन् । जहाँ अंग्रेज फौजलाई हराएको जितगढी किल्ला पनि पर्छ । त्यहाँ नगरपालिकाले कणेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण गरिने छ भने सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर राष्ट्रियतको गौरव देखाइने नगरपालिकाको योजना रहेको छ । जहाँ मणिमुकुन्द सेन उद्यान (फूलबारी) छ । फूलबारीको अवलोकन गर्न वार्षिक ३ लाख आन्तरिक तथा बाहय पर्यटकहरू आउने गर्छन् ।
पुरानो बटौली लामो उतारचढाव र लामो इतिहास बोकेको क्षेत्र भएपनि जनप्रतिनिधिले पनि अहिलेको बुटवल सहरलाई प्राथामिकतामा नराख्दा पछाडि परेको बताउँछन् स्थानीय तथा शिक्षक गौतमलाल शाक्य । उनले भने, ‘यहाँ भएका पुराना घरहरूलाई संरक्षण गरिनुपर्छ । जहाँ घिउ अहिलेको पुस्ताले हाम्रा बाबा आमा घिउले नुन साटने ठाउँ यस्तो रहेछ भन्ने चिन्न सकून् ।’
यहाँ सय वर्षभन्दा पुराना घर समेत यहाँ देख्न सकिन्छ । पुराना घर काठका ढोका भएका व्यापार गर्ने शैलीका छन् । तर, ती घरमा पसल र व्यवसाय छैन । कतिपय व्यक्तिगत रुपमा भाडामा गएको छ भने केही प्रयोगविहीन जस्तै अवस्थामा छन् ।
उचित संरक्षणको अभावमा ती घर थोत्रिएका छन् । धेरैजसो घरधनीहरू नै यो ठाउँमा बस्दैनन् । ‘बिक्री नहुँदा र घरधनीको हेरचाह नहुँदा पुराना घरहरू जीर्ण भएका हुन् । पुख्र्यौली थलो यहाँ भएपनि बस्नको लागि टाढा पुगेका छन् ।
२०२० सालतिर सुनौली पोखरा सिद्धार्थ राजमार्ग निर्माण कार्य शुरू भयो । त्यसपछि पहाडी क्षेत्रमा सवारीसाधन ओहोरदोहोर गर्न थाले । सडक सुविधाका कारण तिनाउवारि खस्यौलीमा पसल थपिन थाले । ‘तिनाउपारि गाडी नजाने साँघुरो बाटो थियो । वारिबाट ट्रकमा लोड गरेर पहाडतिर सामान लैजान सहज भएपछि बटौलीका व्यापारीहरू खस्यौली (अहिलको बुटवल बजार) तर्फ सरेको बताउँछन् बटौली सम्बद्र्धन तथा संरक्षण समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौल ।
उनले भने, ‘त्यसपछि अमरपथ, राममन्दिर लाइनलगायतका ठाउँमा व्यापार फस्टाउँदै गयो । बिस्तारै अरु ठाउँमा बजार विस्तार हुँदै गएपछि अहिलेको बुटवल बन्यो ।’
पूर्वपश्चिम राजमार्गमा रहेको तिनाउ पुलले बुटवलको अहिलेको मुख्य बजार र पुरानो बजारलाई जोडेको छ । यी २ बजारलाई जोड्ने अर्को पक्की पुल पनि निर्माण हुँदैछ । पुलले बुटवल उपमहानगरपालिकाको १ र ३ नम्बर वडालाई जोड्छ । पुल बनेपछि बुटवलको पुरानो बजारमा चहलपहल बढ्छ कि भन्ने स्थानीयको आशा रहेको छ ।
‘पक्कीपुल बनिसकेपछि सटरको भाडा दोब्बर–तेब्बर हुन्छ, बुटवल लिगल भन्छन् । तिनाउको वारिपारि रहेको बुटवल–३ गोलपार्कदेखि वडा नम्बर १ को गणेशथानसम्म सवारीसाधनमा आवत–जावत गर्न अहिले झण्डै २ देखि ३ किलोमिटरको दूरी तय गर्नुपर्दछ ।
पैदल हिँड्नलाई झोलुङ्गे पुल मात्र छ । प्रदेश सरकारले पनि जितगढी किल्लालाई संरक्षण र विकास गरी पर्यटकीय गन्त्व्य बनाउने बताउँदै आएको छ । तर, त्यसतर्फ ध्यान कसैको पुग्न सकेको छैन ।