
दमौली-जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ । शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो ।
शिविरमा पूर्ण अपाङ्गता भएका १८ वर्षीय आशिष ढकालले समेत नागरिकता बनाएका थिए । सो अवसरमा ९७ सेवाग्राहीले मतदाता परिचयपत्र बनाएका , ८८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले प्रशासनले गरेको कार्य सराहनीय भएको बताउनुभयो ।
प्रशासनले दुर्गम स्थानलाई प्राथमिकता दिँदै नागरिकता प्रमाणपत्र, राहदानी, बजार अनुगमन एवं अन्य सेवा लिँदा पुर्याउनुपर्ने प्रक्रिया र कागजातको सन्दर्भमा स्थानीय तहको संयोजनमा स्थानीय तहका निर्वाचित प्रतिनिधि र कर्मचारीसँग समेत अन्तरक्रिया र अनुशिक्षण कार्यक्रम गर्ने योजना बनाएको छ ।