०९ असार २०८३, मंगलबार

बल्न छाडे 'सिक्स लेन'का सडक बत्ती, दुई करोड लगानी डेढ वर्षमा स्वाहा !

भदौ ३१, २०७५
बल्न छाडे 'सिक्स लेन'का सडक बत्ती, दुई करोड लगानी डेढ वर्षमा स्वाहा !

बुटवल –निर्माणाधीन बुटवल–बेलहिया ‘सिक्स लेन’ सडकमा डेढ वर्षअगाडि १ सय ५० सौर्य बत्ती जडान गरिएको थियो । ती सौर्य बत्तीमध्ये आधाजसो अहिले बल्न छाडिसकेका छन् ।

८० वटा बत्ती बल्छन् । त्यसमध्ये पनि केही बत्ती छिनभरका लागि बलेर झ्याप्पै निभिहाल्छन् ।

सडकमा दुई करोड खर्चिएर राखिएका बत्ती बल्न छाडेपछि देखाउनका लागि मात्र बत्ती जडान गरिएको रहेछ भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

बत्ती एक छिनका लागि बल्ने र झ्याप्पै निभिहाल्ने भएकाले 'हर्ष न विस्मत' भएको बुटवलका सुरज काफ्ले बताउँछन् ।

‘बत्ती त छ, तर छ कि छैन भन्ने ?’ उनले भने, ‘सौर्य बत्ती गुणस्तरीय नभएको हुनसक्छ ।’

बल्ने केहीले पनि जुनकिरीजस्तै मधुरो उज्यालो दिन्छन् । बुटवल–बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठ सिक्स लेन सडकमा जडान गरिएका सौर्य बत्ती योजना सफल हुन नसकेको बताउँछन् ।

उनले भने, ‘सौर्य बत्तीले यो सडकका लागि सफल हुने देखिएन । अब बन्ने क्षेत्रमा नयाँ विकल्पका बारेमा सोच्नुपर्ने देखियो ।’ 

नवलपरासीको बर्दघाटस्थित महेश निर्माण सेवा प्रालिले डेढ वर्ष अगाडि दुई करोड रूपैयाँ लगानीमा बत्ती जडान गरेको थियो ।

३५ मिटरको दुरीमा सडक बत्ती राखिएको छ । एउटा सोलारमा दायाँ र बायाँतर्फ दुईवटा बल्ब राखिएका छन् । जहाँ एउटा मात्र सोलारबाट चार्ज हुने एउटा मात्र ब्याट्री छ ।

श्रेष्ठ भन्छन्– 'एउटा पोलमा दुईवटा बल्ब दायाँ–बायाँ भएको जोड्दा समस्या देखियो । एउटा पोलमा एउटा मात्र बल्ब भएको भए टिकाउन हुने थियो कि ?’ 

जडान गरिएका बत्ती स्वचालित हुन् । अध्यारो हुँदै गएपछि आफैँ बल्ने उज्यालो हुँदै गएपछि निभ्ने गर्छन् । अहिले बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म पनि सौर्य बत्ती जडान गरिएको छ ।

त्यहाँ जडान गरिएका बत्ती पनि बिग्रिन थालेका छन् । महेश निर्माण सेवा प्रालिका प्रमुख मनोज खनाल एउटा पोलमा दुईवटा बत्ती राख्दा समस्या देखिएको बताउँछन् ।

‘सडकअनुसार राखेको भए हुने हो । हामीलाई दुईवटा लाइटवाला जडान गर्ने भनेर ठेक्का भयो । हामीले त्यहीअुनसार ६०/६० वाटका बत्ती जडान गरेका हौं ।’

सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दूरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले शुरूदेखि नै उज्यालो पर्याप्त थिएन ।

दुई वर्षको ग्यारेन्टी सहित जडान गरिएका बत्ती धमाधम बिग्रिएपछि कम्पनीले एक पटक सबै बत्तीका बल्बहरू फेरिसकेको बताएको छ ।

जडान गरिएका सबै बत्ती भारतीय कम्पनीका हुन् । 

बुटवल–बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता कायम राख्ने उद्देश्यका साथ राखिएका सडक बत्ती प्राविधिक रूपमा असफल भएपछि सडक विस्तार आयोजना विद्युत् प्राधिकरणसँग छलफल गरी विद्युतीय बत्ती जडान गर्ने सोचमा पुगेको छ ।  

इञ्जिनियर श्रेष्ठले थपे, ‘बुटवल मात्र होइन काठमाडौंमा जडान गरिएका बत्ती पनि बिग्रिएको सुनेका छौं । अब हामी नयाँ सोचका साथ अगाडि बढ्छौं । विद्युत प्राधिकरणसँग सहकार्य गरेर अबका क्षेत्रमा विद्युतीय बत्ती जडान गर्ने अवस्थामा पुगियो ।’

बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गका रूपमा आधुनिक र फराकिलो बनाउने काम भइरहेको छ । २७ किलोमिटरमध्ये अहिलेसम्म झण्डै २० किलोमिटर सडक निर्माण पूरा भएको छ । 

बुटवल बजार क्षेत्र (चौराहा–गोलपार्क)सम्मको सडकमा जडान गरिएका सौर्य बत्ती पनि मधुरा छन् । उज्यालो शहर अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाको शून्य लगानीमा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत् उपमहानगरले सडक र मुख्य चोकलाई उज्यालो बनाउन सडक बत्ती जडान गरिएका थिए । 

एपेक्स नेपालले उपमहानगरको स्वीकृतिमा पहिलो चरणमा १ सय ५० सडक बत्ती जडान गरेको हो । सडक बत्तीसँगै प्रत्येक पोलमा एपेक्सले डिजिटल विज्ञापन बोर्ड राखेको छ । 

व्यावसायिक विज्ञापनका सामग्री राखेबापत बुटवल उपमहानगरपालिकालाई एपेक्स प्रालिले वार्षिक १७ लाख रुपैयाँ विज्ञापन कर पनि बुझाउने उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

उपमहानगर र एपेक्स प्रालिबीच हालै १५ वर्षका लागि सम्झौता भएको छ । बुटवलका भित्री सडकमा पनि सौर्य बत्ती जडान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्