
काठमाडौं – पाकिस्तानमा एक विमानभित्रै पाइलट र केबिन क्रुले झगडा गरेका छन् । झगडाका कारण विमान तीन घन्टा ढिलो उड्यो ।
पाइलटले केबिन क्रुका एक सदस्यलाई विमानबाट बाहिर जान भनेपछि झगडा शुरू भएको थियो ।
लन्डन जाने पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उडान सेवामा तीन घन्टा ढिलाइ भयो । डन पत्रिकाको रिपोर्टअनुसार, लाहौरबाट लन्डन जाने पीके–७५७ शनिवार राति नौ बजे उडानका लागि तयार थियो । तर अचानक पाइलट
अनवर चौधरीले क्रु सदस्य अवेश कुरैशीलाई विमानबाट बाहिर निकाल्न अरूलाई भने ।
पाइलटले कुरैशीमाथि तस्करी गरेको आशंका गरेका थिए । उडानका बेलामा कुरैशीले तस्करी गर्ने गरेको पाइलटको भनाइ थियो । यसले गर्दा एयरलाइन्सको बदनामी भएको उनको दाबी थियो ।
यस्तो आरोपपछि कुररैशी बेस्सरी रिसाए र उनीहरू पिटापिट गर्न थाले । अरू क्रु सदस्यले पनि पाइलटलाई साथ दिए ।
सूत्रहरूका अनुसार, झगडाका कारण विमान उड्न ढिलो भएपछि रिसाएका यात्रीहरूले पीआईए व्यवस्थापनविरुद्ध नारा लगाए । हंगामा भएपछि आधी रात बल्लबल्ल विमान उड्यो ।
पीआईए प्रवक्ताले आइतवार घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान शुरू गरेको बताए । विमानमा उडान ढिलाइ हुनुमा म्यानचेस्टरबाट आएको विमानको ढिलाइ जिम्मेवार रहेको चाहिँ उनले बताए ।
एजेन्सी