
विराटनगर – साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिज केसी साधारण तारेखमा रिहा भएका छन् ।
उच्च अदालत विराटनगरले केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय उमेशराज पौडेल र उमेश कुमार सिंहको संयुक्त इजलासले निलिम्बित डीएसपी केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको हो ।
साढे ३३ किलो सुन प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका केसीको घटनामा प्रत्यक्ष संलग्नता देखिएको भन्दै जिल्ला अदालत मोरङले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।
यसअघि उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पुर्पक्षका जिल्ला अदालत मोरङले जेल चलान गरेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो ।
सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाकै पुर्पक्षका लागि जेल चलान भएका अर्का प्रतिवादी राम तिवारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको छ ।
उच्च अदालत विराटनगरले प्रतिवादी तिवारीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो । ५ लाख बराबरको नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाए तिवारी पनि रिहा हुनेछन् ।
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाइएकाहरू जिल्लाको आदेशविरुद्ध अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत उच्च अदालत गएका थिए ।
आइतवार उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २३ वटा पेशी तोकिएका थिए । जसमध्ये १ जनाको हेर्न नमिल्ने, १ जनाको हेर्न नभ्याइएको र १९ जनाको स्थगित भएको थियो ।
२ वटा पेशीमा भने उच्च अदालतले जिल्लाको आदेश उल्टाएको छ ।