२२ जेठ २०८३, शुक्रबार

स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण : पाकिस्तानी प्रधानमन्त्री

भदौ ३१, २०७५
स्थानीय निकायलाई बलियो बनाउन विकेन्द्रीकरण : पाकिस्तानी प्रधानमन्त्री

इस्लामावाद- राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताउनुभएको छ । 

स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताउनुभएको हो । 

प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन् । अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन ।” 

क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताउनुभयो । उहाँले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण दिँदै भन्नुभयो, पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोराएको छ । 

खानले एक हप्ताभित्र नयाँ स्थानीय शासन प्रणालीबारे प्रस्ताव तयार गर्न एक समितिको घोषणा गर्नुभएको छ । समितिले दिने सुझाबलाई आवश्यक छलफल र परिमार्जनसहित प्रान्तीय सभामा लगिने बताइएको छ । उक्त सुझाबलाई कानूनी स्वरूप दिनका लागि एक महिनाभित्र अघि बढाइने छलफलमा प्रधानमन्त्रीले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । 

यस बर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्