२२ जेठ २०८३, शुक्रबार

संविधान दिवस मनाउन १ नम्बर प्रदेशमा तयारी, विराटनगरमा कार्यक्रम हुने

संविधान दिवस मनाउन १ नम्बर प्रदेशमा तयारी, विराटनगरमा कार्यक्रम हुने

विराटनगर – १ नम्बर प्रदेश सरकारले संविधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमूना कार्यक्रम गर्ने जनाएको छ ।

सोमवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशले नमूना कार्यक्रम गरेर देखाउने बताए । 

प्रदेश सरकारको आगमनसँगै पहिलो पटक संविधान दिवस प्रयोगको रुपमा लिइएकाले सबैको सहभागितामा संविधान दिवस मनाउन लागिएको उनले बताए । अहिलेसम्म भएका विभिन्न कार्यक्रममा कम उपस्थिति हुने तथा सरकारले आह्वान गर्ने दिपावलीको नागरिक स्तरबाट सहयोग नहुने प्रसङ्गमा मन्त्री कार्कीले भने, ‘यो हामी सबैको हो भन्ने प्रत्याभूति नागरिक स्तरमा दिलाउन सकिएको छैन ।’

‘सबैको अपनत्व हुने गरी संविधान दिवस मनाइनुपर्छ,’ मन्त्री कार्कीले भने, ‘जनताले सरकारप्रति विश्वास गर्न सकेका छैनन्, यो मेरो हो भन्ने अपनत्व गराउन सक्नुपर्छ,’ उनले भने । हरेक दिवसलाई आमनागरिकको आस्थाको रुपमा स्थापित गराउने भएपनि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको संविधान सबैको आस्थाको केन्द्र हुनुपर्ने उनले बताए ।

मन्त्री कार्कीले संविधान दिवसमा कुनै पनि संविधान विरोधी गतिविधि भए तत्काल नियन्त्रणमा लिएर ती व्यक्तिलाई कानूनी कारवाही गर्ने बताएका छन् । संविधान दिवस मनाउने सन्दर्भमा प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले प्रदेशमा २, ३ र ४ गते दिवस मनाउन भव्य तयारी भएको बताए ।

प्रदेश स्तरको कार्यक्रम प्रदेशको अस्थायी राजधानी विराटनगरमा मनाइने र अन्य सबै १ सय ३७ वटै स्थानीय तहले प्रदेश सरकारको योजना अनुसार संविधान दिवस मनाउने उनले जानकारी दिए ।

प्रदेश स्तरको कार्यक्रमको लागि जातीय झाँकी, मञ्च व्यवस्थापन, झाँकीलाई कलात्मक बनाउने, दिपावली गर्ने विषयमा महानगरपालिकासँग सहकार्य भइरहेको प्रमुख सचिव न्यौपानेले बताए । ५ सय १ सदस्यीय प्रदेश स्तरीय संविधान दिवस मूल आयोजक समितिको संयोजक शेरधन राई रहेका छन् । समितिले संविधान दिवस मनाउनेबारे तयारीलाई तीब्र बनाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्