२९ असार २०८३, सोमबार

ली क्वान यूबाट के सिक्न सक्छ नेपालले ?

ली क्वान यूबाट के सिक्न सक्छ नेपालले ?

काठमाडौं– मदन भण्डारी फाउण्डेशनले ‘सिंगापुर परिवर्तनको कथाः तेस्रो विश्वबाट पहिलो विश्व तर्फ नेपालका निम्ति नीतिगत पाठहरु’ शीर्षकमा एक व्याख्यान कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमका प्रमुख वक्ताको रुपमा नानयाङ प्राविधिक विश्वविद्यालयमा नीति समाजशास्त्र विषयका अवकाश प्राप्त प्राध्यापक ग्यारी लिटलेप्राध्यापक ग्यारीले सन् १९६५ मा स्वतन्त्र हुँदा अत्यन्त गरिव र कमजोर रहेको सिंगापुरले त्यहाँका प्रधानमन्त्री ली क्वान यूको नेतृत्वमा हासिल गरेको समृद्धिका विषयमा प्रस्तुती दिएका थिए । 

वेलायती उपनिवेशबाट स्वतन्त्र हुँदा सिंगापुरको आफ्नो सेना, शासकीय संरचना वा कर्मचारीतन्त्र नभएको बेलामा शुन्यबाट राष्ट्र निर्माण शुरु गरेर ली क्वान यूले समृद्ध सिंगापुर वनाउने यात्रामा भ्रष्टाचारविहीन अर्थव्यवस्था, योग्यतामा आधारित राज्य संरचना र अनेकतामा एकताको वलियो आधारशिला तयार गरेको प्राध्यापक ग्यारीको कथन थियो । समृद्धिको बाटोमा अगाडि बढ्न लागेका नेपाल जस्ता देशका लागी कानूनको शासन, सक्षम कर्मचारी प्रशासन, भ्रष्टाचारविरुद्ध निरन्तर लडाईं तथा राजनीतिक र सामाजिक स्थायित्व महत्वपुर्ण हुने पनि ग्यारीको भनाइ थियो । सिंगापुरमा विभिन्न समुदायको प्रतिनिधित्वका लागि कानूनी व्यवस्था भए पनि त्यहाँको प्रगतिको पहिलो आधारशिला योग्यतामा आधारित सरकारी संरचनाको निर्माण भएको र यसले नै सिंगापुर अगाडि आएको ग्यारी भनाइ थियो ।

शासन संचालनका सिलशिलामा नेतृत्वले अलोकप्रिय निर्णय पनि लिनु पर्ने हुनसक्ने भन्दै सिंगापुरमा मन्त्रीहरुको तलव संसारकै सवैभन्दा धेरै वनाउँदा विरोधको सामना गर्नुपरे पनि लि क्वान यूले तलवको जवाफदेहिता जनतासामू प्रस्तुत गर्ने र भ्रष्टाचार रोक्न आफ्नो कदम सहयोगी हुने विश्वास आफ्ना नागरिकलाई दिलाएर उक्त निर्णय लागु गराएको दृष्टान्त प्राध्यापक ग्यारीले उल्लेख गरे । 

प्राकृतिक श्रोतको अभावलाई चिर्न सिंगापुरले राज्यस्तरबाट आफ्ना नागरिकहरुको प्रगतिमा ठूलो आर्थिक र वौद्धिक लगानी गरेको गरेको थियो । लि क्वानु यूले उठाएका विभिन्न सुधारात्मक कदमले साना र ठुला दुवै प्रकारका नीतिगत सुधारले जनताको जीवनस्तर उकास्न भूमिका खेलेको थियो ।

कार्यक्रमको अध्यक्षता दक्षिण एशियाली विकास कोषका सुशासन सल्लाहकार टीका प्रसाद ढकालले गरेका थिए । नेपालको संविधानले नेपाललाई समाजवादअन्मुख राष्ट्र वनाउने प्रण गरेको उल्लेख गर्दै ढकालले सिंगापुरको उदाहरणबाट ‘पूँजीवादी साधनको व्यापक उपयोग गरेर समाजवादी उद्देश्य प्राप्त गर्न सकिने’ बताए । नागरिकको आफ्नो राज्य र सरकार प्रति विश्वास रहेको अवस्थामा सरकारले अलोकप्रिय तर जरुरी निर्णय लिँदा पनि जनताको व्यापक समर्थन प्राप्त भईरहने उदाहरण ली क्वान यू को नीति र नेतृत्वले पेश गरेको ढकालको भनाइ थियो ।

विभिन्न क्षेत्रका विषय विज्ञ, वुद्धिजिवी, सांसद, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवातमा मदन भण्डारी फाउण्डेशनका सचिव एवम्म् पूर्व सांसद पेम्बा लामाले कार्यक्रमको उपादेयतामाथि प्रकाश पारेका थिए  । मदन भण्डारी फाउण्डेशनको एउटा प्रमुख उद्देश्य विचार र नीति निर्माणमा योगदान गर्ने रहेको वताउँदै लामाले फाउण्डेशनलाई देशको प्रमुख थिङ्कट्याङ्कका रुपमा अगाडि लैजाने बताए ।


 

कमेन्ट गर्नुहोस्