
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सबै नेपालीको सामूहिक चाहना समेटिएको साझा ग्रन्थ भएको बताउनुभएको छ ।
तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले हरेक नेपालीको महानता र गरिमालाई स्वीकार गरेको पनि बताउनुभयो ।
‘यो संविधान सबै नेपालीको सामूहिक चाहना समेटिएको साझा ग्रन्थ हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसले हरेक नेपालीको महानता र गरिमालाई स्वीकार गरेको छ ।’
प्रधानमन्त्री ओलीले संविधान अतुलनीय दस्तावेज नभएपनि कसैसँग जाँज्न नसकिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतका अनुभव भन्दा यो संविधान समृद्ध भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको नारा’ भन्नका लागि मात्र भनिएको नभइ पछि परेको नेपाली समाजलाई रुपान्तरण गर्न पूरा हुने गरी देखिएको सपना भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधानले परिकल्पना गरेअनुसार देश तीन तहको शासकीय व्यवस्थाअनुसार अगाडि बढिसकेको बताउँदै संघीयता ठीक हो कि बेठीक भन्ने प्रश्न अब सान्दर्भिक नभएको बताउनुभयो ।