
रुसमा सम्पन्न विश्वकपमा विश्वविजेता फ्रान्सले अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिर पठाएको बेलामा थकित र चिन्तित लियोनेल मेस्सीले घुँडा टेकेको कारुणिक दृश्य याद छ नि तपाईंलाई ?
तर त्यो अब इतिहास भइसकेको छ । त्यसलाई बिर्साउँदै मंगलवार राति मेस्सीले आफू फूटबलका महानतम खेलाडी भएको सबैलाई देखाए । पीएभी आइन्डहोभन क्लबविरुद्ध उनले च्याम्पियन्स लीगमा सनसनीपूर्ण ह्याटट्रिक गर्दै ४–० ले बार्सिलोनालाई जिताए ।
तेस्रो गोल गरेपछि उनलाई टोलीका साथीहरूले घेरेर खुशियाली मनाए, भीडले उनको नाम लियो र उनका व्यवस्थापक भावुक भएर उनका बारेमा ‘विगत धेरै वर्षमा नदेखिएको कुरा देखेको’ भनी वर्णन गरे ।
त्यसपछि पनि उनीमाथि प्रशंसाका बाढी आए ।
विश्वकपमा संघर्ष गरेका मेस्सीले चार खेलमा जम्मा एक गोल गरे, अनि उनको टोली अर्जेन्टिना अन्तिम १६ बाट बाहिरियो । तर बार्सिलोनाको जर्सी लगाएर मेस्सीले यो सीजनमा अद्भुत प्रदर्शन गरिरहेका छन् र ६ खेलमा सात गोल गरिसकेका छन् ।
पीएसभीविरुद्ध उनको प्रदर्शनको अर्थ हुन्छ, उनले च्याम्पियन्स लीगमा कीर्तिमानी आठचोटि ह्याटट्रिक गरिसकेका छन् । आफ्ना प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोभन्दा उनी एक ह्याटट्रिक अघि छन् । अनि यस लीगको समूह चरणको ६४ खेलमा उनले ६३ गोल गरिसकेका छन् जुन अन्य खेलाडीको भन्दा निकै धेरै हो ।
यी ३१ वर्षीय खेलाडीले च्याम्पियन्स लीगको लगातार १४ वटा सीजनमा गोल गरिसकेका छन् । रियाल मड्रिड क्लबका महान् खेलाडी राउलपछि यसो गर्ने उनी दोस्रा खेलाडी हुन् ।
उनले पीएसभीविरुद्ध पहिलो गोल २० यार्डको दूरीबाट फ्रीकिकमा हानेका थिए । विगत तीन वर्षमा उनले गरेको यस्तो (फ्रिकिक) २२औं गोल हो ।
यस्तो स्थितिमा मेस्सीको कला यस्तो गजबको हुन्छ कि उनकै क्लबका इभान राकिटिचले रमाइलो गर्दै भने, ‘मेस्सीले फ्रीकिक हानेको अधिकांश अवसरमा तपाईं सीधै जहाँ गएर खुशियाली मनाउनुपर्ने हो, त्यहाँ गइहाले हुन्छ ।’
बार्सिलोनाबाट आन्द्रेस इनिएस्ता बाहिरिएपछि मेस्सीले कप्तानी लिएका छन् । सीजनको शुरूआतमा उनले बार्सा च्याम्पियन्स लीग जित्नका लागि सक्ने जति सबै गर्न तयार रहेको बताएका थिए ।

हुन पनि बार्साले सीजनको उत्कृष्ट शुरूआत गरिसकेको छ ।
उनको पहिलो गोललाई व्यवस्थापक अर्नेस्टो भाल्भेर्देले ‘भव्य’ भनी वर्णन गरे अनि थपे, ‘हामीहरू उनको प्रशंसा गरेर थाक्दैनौं, म सदासर्वदा उनको बारेमा राम्रै कुरा भन्छु ।’
मेस्सीले दोस्रो गोल मिडफील्डर राकिटिचसँगको सहकार्यमा गरेका थिए । हाफभलीमार्फत उनले बललाई गोलपोस्टमा छिराएका थिए । अनि खेल सकिन लागेको बेलामा उनले बटम कर्नरमा गोल गरेर ह्याटट्रिक पूरा गरेका थिए ।
भाल्भेर्देले थपे, ‘सामान्यतया तपाईंले ह्याटट्रिक गर्नुभयो भने त्यसको तस्वीर खिचेर फ्रेम बनाएर झुण्ड्याउनुहुन्छ । मेस्सीले त यस्तो असाधारण कुरालाई पनि नियमित प्रक्रिया बनाएका छन् । हामीहरूले अद्वितीय कुरा देखिरहेका छौं । यस्तो कुरा धेरै वर्ष भयो देख्न नपाएको । उनीजस्तो अर्को खेलाडी भेट्न मुश्किल छ ।’
बार्सिलोनाका पूर्व मिडफील्डर रोनाल्ड डे बोएरले पनि मुक्तकण्ठले मेस्सीको प्रशंसा गरे ।
‘मेस्सीले विगत दुईतीन वर्षयता खेलिरहेको उत्कृष्ट खेलको नमूना थियो त्यो,’ उनले यूईएफए डट्कमलाई बताए, ‘उनी शिकारी हुन् । उनी अरू खेलाडीले भन्दा कम दूरी समेट्छन् तर जब एक्सनमा जानुपर्ने हुन्छ उनी गइहाल्छन् । उनको तेस्रो गोलमा त्यो कुरा प्रमाणित हुन्छ ।’
मेस्सीको अद्भुत प्रदर्शनले संसारभरि चर्चा पाएको छ ।
सामाजिक सञ्जालमा उनलाई सर्वकालीन महान् अर्थात् द गोट भनी उल्लेख गरियो । उनले गरेको पहिलो गोल र तेस्रो गोलको बीचमा अनि खेल सकिएको आधा घन्टापछि पनि उनको नाम तीन लाख २६ हजारचोटि ट्वीट गरिएको थियो ।
बार्सिलोनाबाट निस्कने स्पेनी भाषाको पत्रिका मुन्डो डिपोर्टिभोले लेख्यो, ‘च्याम्पियन्स लीग संसारका सर्वोत्कृष्ट खेलाडीको प्रदर्शनका साथ शुरू भएको छ ।’
अर्को स्पेनी पत्रिका एएसले त झनै चर्को प्रशंसा गर्दै मेस्सीलाई उनकै देशवासी डीएगो म्याराडोनासँग तुलना गरिदियो ।
‘म्याराडोनाको जस्तो कोमल टचका साथ मेस्सीले बललाई गोलपोस्टमा छिराए,’ पत्रिकाले उनको फ्रीकिकको वर्णन गर्दै लेख्यो । ‘यो साँच्चिकै आश्चर्यजनक गोल थियो र यस सीजनको च्याम्पियन्स लीगको पहिलो गोलसँगै मेस्सीले
यस प्रतियोगिताको कलात्मक शुरूआत गरेका छन् ।’
- बीबीसीमा प्रकाशित विश्लेषणको भावानुवाद