
हेटौंडा– सुख्खायाममा प्रयोग हुँदैआएको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरमा यो वर्ष पानीको सहत बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित जलाशयमा गत वर्षको यो समयमाभन्दा अहिले पानीको सतह झण्डै पाँच मिटर बढेको छ ।
अहिले जलाशयमा पानीको सतह एक हजार ५२४ मिटर २४ सेन्टिमिटरभन्दा बढी पुगेको छ । गत वर्ष यही समयमा एकहजार ५१९ मिटर मात्र थियो । कुलेखानी जलविद्युत् आयोजनाका अनुसर जलाशयमा हाल दैनिक पानी १० देखि ११ सेन्टिमिटर बढ्ने गरेको छ ।
यस वर्ष भदौको अन्त्यसम्ममा पनि वर्षा हुनेक्रमले निरन्तरता पाएकोले पानीको सतह बढेको हो । पानीको सतह बढ्ने क्रमले निरन्तरता पाउने र अहिलेकै अवस्थालाई हेर्दा आगामी दुई महिनाभित्रमा जलाशय क्षमताअनुसार भरिने कुलेखानी आयोजनाले जनाएको छ ।