२८ असार २०८३, आइतबार

रोनाल्डोलाई रेड कार्ड : महान् खेलाडी– तर जति गोल, उति नै छुच्चोपना !

रोनाल्डोलाई रेड कार्ड : महान् खेलाडी– तर जति गोल, उति नै छुच्चोपना !
Photo : mirror.co.uk

क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि युरोपेली लीगमा खेलेको पहिलो खेल आँसुमा अन्त्य हुने अपेक्षा गरेका थिएनन् । 

रोनाल्डो र च्याम्पियन्स लीग फूटबलका महान् प्रेमकथा हुन् । यी दुई भव्य व्यापारिक केन्द्र हुन् जसले फूटबलका लागि करोडौं डलर कमाउने बाटो खोलिदिएका छन् । 

उनीहरूबीचको गणित सरल छ : यूईएफएले आफ्नो प्रसिद्ध 'छोरो'लाई चम्किने मञ्च दिन्छ अनि रोनाल्डोले महासंघलाई गोलको वर्षा गरेर उपहार दिन्छन् । यही सूत्रले रोनाल्डोलाई पाँच सीजनमा चार च्याम्पियन्स लीग दिलाएको छ ।

रोनाल्डो रियाल मड्रिड छोडेर युभेन्टस गएपनि उनी तथा यूईएफएबीचको रोमान्स सन् २०१८–१९ को सीजनमा पनि कायम रहने सबै संकेत पाइएको थियो । तर रोनाल्डोको भाग्यमा अर्कै कुरा लेखिएको रहेछ ।

भ्यालेन्सियाका खेलाडी जेइसन मुरिल्लोसँग खेलको २८औं मिनेटमा झगडा परेपछि रोनाल्डोलाई रेड कार्ड देखाइयो ।

उनलाई एक खेलको प्रतिबन्ध त स्वतः लागिहाल्यो अनि उनले अर्को महिना म्यानचेस्टर युनाइटेडसँगको खेल पनि गुमाउने सम्भावना छ ।

यो घटनाले रोनाल्डोको व्यक्तित्वको अनाकर्षक पक्षलाई उजागर गरेको छ जसलाई प्रायः बेवास्ता गरिन्छ । 

वास्तवमा रोनाल्डोले भ्यालेन्सियाको गृह मैदान मेस्तालामा शुरूदेखि नै क्रोध देखाइरहेका थिए । उनी मारियो मान्जुकिचसँग मिलेर आक्रमणको मोर्चा सम्हालिरहेका थिए तर युभेन्टस टोली आफ्नो खतरनाक प्लेमेकर पाउलो डिबालालाई बेच्नमा राखेर मैदानमा उत्रेको थियो ।

भ्यालेन्सियाले रोनाल्डोलाई खुलेर खेल्न नदिएकाले उनी मैदानमा आफ्नो स्थान भेट्न पनि संघर्ष गरिरहेका थिए । स्पेसको खोजीमा रोनाल्डो देब्रेबाट दाहिने भागमा दौडिरहेका थिए अनि खेलका शुरूआती मिनेटमा उनले भ्यालेन्सियाका गोलकीपर नेटोतिर दुईवटा शट प्रहार गरेका थिए तर गोल गर्न सकेनन् ।

अघिल्लो सप्ताहान्तमा दुई गोल गरेर करीयरको सबभन्दा ठूलो मुभ बनाउँदा हुने चिन्तालाई हटाउन सफल भएको दाबी गर्ने रोनाल्डो हिजोको खेलमा आत्तिएका र असहज देखिन्थे । 

तैपनि उनले झण्डै एउटा असिस्ट गरेका थिए जब उनले एउटा भली मान्जुकिचअगाडि पुर्‍याए । तर ती क्रोएसियाली खेलाडी पाएको अवसरबाट नराम्ररी चुके अनि रोनाल्डोले आफ्ना पार्टनरलाई मनमनै गाली गरे र खेल गोलरहित बनिरह्यो । 

त्यसको केही मिनेटपछि भ्यालेन्सियाको डिफेन्सले चामत्कारिक प्रदर्शन गर्ने क्रममा बललाई डीबक्सबाट बाहिर राख्न प्रयास गरिरहेको बेलामा रोनाल्डो मैदानमा लडेर आफूविरुद्ध फाउल भएको कुरा बताइरहेका थिए ।  

उनको क्रोध विस्फोट हुन तयार थियो र मुरिल्लो गलत समयमा उनको अगाडि आइपुगे । ती कोलम्बियाली डिफेन्डर बल ट्याकल गर्न रोनाल्डोसँग उल्झिए र युभेन्टसले बल मैदानबाहिर पुर्‍यायो । रोनाल्डोले मैदानमा लडेका मुरिल्लोको कपाल मुट्ठ्याए । 

रोनाल्डोको यो गतिविधि खासै हिंस्रक थिएन, आखिर उनले कराते हानेर दाह्रा खुस्काइदिएका हैनन् । यो त एक छुच्चा खेलाडीले मुरिल्लोलाई ‘आफ्नो औकातमा बस्’ भन्ने संकेत थियो । तर लडेका विपक्षी खेलाडीविरुद्ध यो रोनाल्डोको आक्रामक र घिनलाग्दो हाउभाउ थियो भन्ने कुरामा कुनै शंका छैन । रेफ्री फेलिक्स ब्रीचले यो घटनामा हस्तक्षेप गरेर रोनाल्डोलाई मैदानबाहिर पठाउनु शायद सही निर्णय थियो । 

तर रोनाल्डोले त्यो निर्णयलाई यसरी हेरेनन् । उनले गरेको प्रदर्शनले उनलाई छैठौं बलोन दोर भन्दा पनि अस्कर पुरस्कार दिलाउला । उनी संकटमा परेकी सुन्दरी झैं लल्याकलुलुक भए अनि आँखामा आँसु ल्याए । त्यसपछि उनी बरर आँसु चुहाउँदै मेस्ताला पिच छोडेर बाहिर निस्किए । 

पोहोर साल बार्सिलोनाविरुद्ध क्याम्प नूमा भएको सुपरकोपा प्रतिस्पर्धासँग यो घटनालाई तुलना गर्न सकिन्छ । त्यतिखेर रोनाल्डोले रातो कार्ड पाएपछि रेफ्रीलाई धकेलेर पाँच खेलको प्रतिबन्ध भोगेका थिए । त्यो रातो कार्ड पनि खासमा दोस्रो पहेंलो कार्ड थियो जुन उनले पेनाल्टी एरियामा डाइभ गरेको कारण पाएका थिए । 

त्यतिखेर उनको अनुपस्थितिले मड्रिडलाई निकै बिझाएको थियो । रोनाल्डो बाहिर बस्नुपर्दा लिगाका चार खेलमा मड्रिडले चार अंक गुमायो र त्यसपछि कहिले पनि सम्हालिएन । अन्ततोगत्वा ऊ बार्सिलोना र एट्लेटिको मड्रिडभन्दा निकै पछि तेस्रो स्थानमा खुम्चिन बाध्य भयो । 

च्याम्पियन्स लीगको उपाधि जीतले मड्रिड र रोनाल्डोको सीजन जोगाइदियो र उनलाई यस प्रतियोगिताको महान् खेलाडीका रूपमा नाम लेखायो । 

तर अब रोनाल्डोले युरोपेली मञ्चमा युभेन्टसका तीनवटा खेल गुमाउन सक्छन् । यूईएएफएले यो घटनालाई कसरी हेर्छ भन्ने कुरामा प्रतिबन्ध निर्भर रहन्छ । यो प्रतियोगितामा उनको पहिलो रातो कार्डका कारण ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ र ओल्ड लेडी भनी चिनिने युभेन्टसका लागि यो ठूलो झड्का हो । आखिर युभेन्टसले रोनाल्डोलाई भित्र्याएको नै युरोपेली च्याम्पियन बन्नका लागि हो । 

त्यसो त युभेन्टस रोनाल्डोविना नै भ्यालेन्सियालाई हराउन सफल भयो । मिरालेम पियानिचले दुईवटा पेनाल्टी गोल गरेर टीमलाई जिताए । तर यो घटनाले स्मरण गरायो, रोनाल्डोको सवालमा क्लबले सकारात्मक र नकारात्मक दुवै पक्षलाई स्वीकार गर्नुपर्छ । उनी आफ्नो करीयरमा ११ पटक रेड कार्ड पाएर मैदानबाट बाहिरिएका छन् । 

क्रिस्टियानो जति धेरै गोल गर्छन्, त्यति नै धेरै छुच्चा पनि छन् ।

गोल डट्कममा प्रकाशित डेनियल एड्वर्ड्सको विश्लेषण

पढ्नुहोस्, यो पनि :

च्याम्पियन्स लीगमा मेस्सीको अद्भुत प्रदर्शन : विश्वभर प्रशंसा, प्रशिक्षक बने भावुक

salt training

कमेन्ट गर्नुहोस्