
काठमाडौं – प्रतिनिधिसभाको बिहीवारको बैठकमा शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेश भएको छ ।
परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सो सम्झौतासम्बन्धी प्रस्ताव पेश गरेका हुन् । विश्व शान्तिका लागि प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त विश्वविद्यालयको अवधारणा अगाडि सारिएको हो । नेपालसमेत सो सम्झौताको पक्ष राष्ट्र भएकाले सङ्घीय संसद्बाट उक्त प्रस्ताव पारित गर्नुपर्ने हुन्छ ।
त्यसअघि बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० को उपनियम १ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । सो प्रस्तावलाई देवप्रसाद गुरुङले प्रस्तुत गरेका थिए भने सांसद पुष्पा भुसालले समर्थन गरेकी थिइन् ।
संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा नेपाल सरकारले उक्त सन्धि अनुमोदन गरेको सन्देश पुर्याउन यही अधिवेशन अवधिमा उक्त सम्झौता प्रस्तुत गरी सम्मिलन हुन नियमावलीमा भएको व्यवस्था भएको प्रक्रिया पूरा गर्न नभ्याइने भएकाले नियम निलम्बन गरिएको प्रस्तावक गुरुङले जानकारी दिए ।
महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने कार्यक्रम छ ।