
काठमाडौं । विभिन्न अदालतमा कार्यरत रहँदा समयमा सम्पत्ति विवरण नबुझाएर जरिवानामा परेका २५ जना न्यायाधीशहरुले सम्पत्ति विवरण न्याय परिषद्मा पेश गरेका छन् ।
ती न्यायाधीशहरुले जरिवाना रकम सहित सम्पत्ति विवरण पेश गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता रामेश्वर रेग्मीले जानकारी दिए । ५ हजार रुपियाँका दरले २५ जना न्यायाधीशबाट १ लाख २५ हजार रुपियाँ राजश्वमा जम्मा भएको पनि परिषदले जनाएको छ । सम्पति बिवरण बुझाउन अटेर गर्ने न्यायाधीशहरुको नाम भने खुलाइएको छैन ।
यता तीन सय ९६ न्यायाधीशहरुले भने तोकिएको समयमै सम्पत्ति विवरण न्याय परिषद्मा बुझाएका छन् । परिषद् सचिवालले गत २०७५ असार २५ गते सार्वजनिक सूचना जारी गरी भदौ २९ भित्र न्यायपरिषद् सचिवालयमा सम्पत्ति बिबरण बुझाउन निर्देशन दिएको थियो । नेपाल समाचार पत्र दैनिकमा खबर छापिएकाे छ ।