
जनकपुरधाम –शव परीक्षण (पोस्टमार्टम) का लागि जनकपुर अञ्चल अस्पतालमा पुर्याउँदा चिकित्सकले हदैसम्म लापरवाही गर्ने गरेको पाइएको छ ।
हत्याको कारण खुलाउन प्रहरीले शव परीक्षणका लागि अञ्चल अस्पताल पुर्याउने गर्छ । तर, अस्पतालका डाक्टरले पोस्टमार्टममा लापरवाही गर्दा हत्याको कारण पत्ता लगाउन जटिल हुने गरेको जनाइएको छ ।
पोस्टमार्टम गर्दा शवको चिरफार गरेर अनुसन्धानका लागि आवश्यक शरीरका अंगको नमूना र भिसेरा संकलन गरिन्छ । तर, नमूना संकलन गर्नमा अस्पतालका सफाइकर्मी कर्मचारी खटिने गरेका छन् । शवबाट नमूना संकलन गरेर शिलबन्दी गर्नेसम्मको काम सफाइकर्मीले गर्छन् । अदक्ष व्यक्तिले नमूना संकलन र शिलबन्दीमा खटिँदा त्रुटिको सम्भावना हुने र अनुसन्धान प्रक्रिया प्रभावित हुने खतरा रहन्छ ।
‘अनुसन्धानका लागि आवश्यक पर्ने विधि र मात्रा अनुसार भिसेरा ननिस्कने खतरा मात्रै हुँदैन, अनुसन्धान नै अर्को कोणमा पुगेर अनुसन्धान नै प्रभावित हुन सक्छ,’ धनुषाका सरकारी वकिल टेकबहादुर कार्कीले भने, ‘पोस्टमार्टम गर्ने काम भनेको स्वीपर (सफाइकर्मी) को होइन । फोरेन्सिक विभागमा विशेषज्ञता हासिल गरेका दक्ष चिकित्सकले गर्ने हो ।’ सफाइकर्मी विशेषज्ञ डाक्टरलाई सघाउन भौतिक काममा मात्रै खटिनुपर्ने कार्कीले बताए ।
अनुसन्धानका लागि चाहिने शरीरका अंग कलेजोको भाग, पेटमा रहेका भाग, रगत लगायत तोकिएको परिणाम अनुसार निकाल्ने र उचित तरिकाले भाँडो (कन्टेनर) मा राख्ने प्रक्रियालाई भिसेरा निकाल्ने भनिन्छ । तर, विशेषज्ञ चिकित्सकले गर्नुपर्ने सबै काम सफाइकर्मीले गर्ने गरेका छन् ।
शवको पोस्टमार्टम गर्दा भिसेरा निकाल्ने र चिरफारपछि शवको शिलबन्दी (स्टिच) गर्ने काम सफाइकर्मीले नै गर्ने गरेको जनकपुर अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामपरीक्षण यादव स्वीकार्छन् । ‘स्वीपरले नै त्यो सबै काम गर्छन् । तर, चिकित्सकको रोहवरमा मात्रै गर्छन्,’ उनले भने, ‘ती स्वीपरहरू तालिम प्राप्त स्वीपर भएकाले त्यो काम गरिरहेका छन् ।’ पोस्टमार्टम रिपोर्टमा हस्ताक्षर गर्ने चिकित्सक फोरेन्सिक विज्ञ हुनुपर्नेमा जनकपुर अञ्चल अस्पतालमा १ जना पनि फोरेन्सिक विज्ञ छैनन् ।
सफाइकर्मी रेबिया मेस्तर, बौएजी मेस्तर, रेयिबा मेस्तर, शिबनन्दन मेस्तर लगायतले पोस्टमार्टमको काम गर्छन् । पोस्टमार्टम रिपोर्टमा चिकित्सक कुल्दिप पण्डित, सुधिर यादव, कृष्णदेव दास, रामदेव चौधरी र अवधेशकान्त झाले हस्ताक्षर गर्ने गरेका छन् ।
चालू आर्थिक वर्ष २०७५/०७६ को साउन महिनामा ३९ वटा शव पोस्टमार्टमका लागि पठाइएकोमा २५ वटा पोस्टमार्टम डा. केडी दास भनिने कृष्णदेव दासले गरेको छन् भने भिसेरा निकाल्ने काममध्ये ३२ वटा सफाइकर्मी रेबिया मेस्तरले गरेका छन् । भदौमा गरिएका ३७ वटा पोस्टमार्टममध्ये २३ वटा डा. दासले नै गरेका छन् भने ३६ वटा शवको भिसेरा सफाइकर्मी बौएजी मेस्तरले संकलन गरेको मेडिकल रेकर्ड शाखाको अभिलेखमा छ ।
अस्पतालमा अर्काे गम्भीर लापरवाही समेत देखिएको छ । कतिपय शवको परीक्षण प्रतिवेदनमा ‘डीकम्पोज’ (शव परीक्षण गर्न नसकिने अवस्थामा पुग्नु) भनेर लेखिदिने गरिएको छ । जसले गर्दा हत्या वा मृत्युको कारण के हो भन्ने कुरा पत्ता नै लाग्दैन । सरकारी वकिल कार्कीले भने, ‘शव सडे गलेको कारण कुनै कुरा पत्ता नै लाग्न सकेन भन्दै ‘डीकम्पोज’ भनेर जवाफ अस्पताल प्रशासनले लेखेर पठाइदिने गर्छ ।’
‘शवलाई सुरक्षित राख्न अस्पतालमा फ्रीज छैन भने फ्रीजको व्यवस्था गर्नुपर्यो, जिल्ला समन्वय समितिको बैठकमा पनि हामीले अस्पतालमा फ्रीजको व्यवस्था गर्न पटक–पटक भनिसक्यौं,’ कार्कीले भने, ‘तर, अस्पतालमा फ्रीज हुँदै नभएको भने होइन । फ्रीज छ तर त्यसको उपयोग गर्ने गरिएको छैन ।’

समयमै आउँदैन रिपोर्ट
आपराधिक घटनाको अनुसन्धानका लागि शवको पोस्टमार्टम गर्न जनकपुर अञ्चल अस्पतालमा पुर्याउने गरेपनि स्वास्थ्य परीक्षण प्रतिवेदन समयमै अस्पतालले उपलब्ध नगराउने गरेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलिया भन्छन्, ‘अस्पताल प्रशासनले समयमै प्रतिवेदन पठाउने गरेको छैन । जसकारण अनुसन्धान प्रभावित हुने गर्छन् ।’
कतिपय स्वास्थ्य जाँचका लागि पठाइएको बिरामीको स्वास्थ्य जाँच भएको महिना समय बितिसक्दा पनि प्रतिवेदन समयमा नआउने गरेको उपरीक्षक थपलियाले बताए । तर, प्रतिवेदन दिन ढिलो नहुने गरेको जनकपुर अञ्चल अस्पतालका प्रमुख यादव बताउँछन् ।
‘प्रतिवेदन लेखेर तत्कालै पठाउन मैले मेडिकल अधिकृतहरूलाई पटक–पटक पत्र लेखेर नै निर्देशन दिइसकेको छु । तर, कम जनशक्तिका कारण कुनै–कुनै रिपोर्ट समयमा दिन नसकिएको हुन्छ,’ उनले भने । महत्त्वपूर्ण भनिने रिपोर्ट तत्कालै दिने गरिएको उनले बताए ।
अस्पतालमा ४७ जना मेडिकल अधिकृतको स्वीकृत दरबन्दीमा १० जना चिकित्सक मात्र कार्यरत रहेका छन् । चिकित्सक अस्पतालको अन्य काममा व्यस्त हुनुपर्ने कारण केही घटनामा समयमा प्रतिवेदन नजान सकेको पनि हुनसक्ने डा. यादवले बताए ।
समय लाग्नुको अर्को कारण
पोस्टमार्टम रिपोर्ट समयमा आउन नसक्नुको अर्को कारण प्रक्रिया नै लामो हुनु पनि रहेको छ । जनकपुर अञ्चल अस्पतालले शवको पोस्टमार्टम गर्नका लागि निकालिएको भिसेराको नमूना भाँडो (कन्टेनर) मा राखिसकेपछि नमुनालाई अस्पतालमै रहेको अस्थायी प्रहरी बिटलाई जिम्मा लगाइन्छ । त्यसपछि नमूना जिल्ला प्रहरी कार्यालय धनुषाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा परीक्षणका लागि पठाउँछ । त्यति गर्न नै हप्ताभन्दा बढी समय लाग्छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पनि १ देखि ३ हप्तासम्ममा नमूना परीक्षणको रिपोर्ट जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउँछ । त्यो रिपोर्ट पुनः जनकपुर अञ्चल अस्पतालमा पठाइन्छ । त्यहाँ चिकित्सकले रिपोर्टको आधारमा मृत्युको कारण सहितको अर्काे रिपोर्ट बनाएर जिल्ला प्रहरी कार्यालयमा पठाउँछन् । यसरी विभिन्न निकायमार्फत् रिपोर्ट बनाउने काम गरिने हुँदा अन्तिम रिपोर्ट तयार हुन महिना दिनभन्दा पनि बढी समय लाग्ने गरेको छ ।
सेवाग्राहीसँग घुस लिन्छन् डाक्टर
शवको पोस्टमार्टम गर्दा कुनै पनि शुल्क सेवाग्राहीले बुझाउनु पर्दैन । झन् पोस्टमार्टम गर्न सरकारले प्रतिशव पोस्टमार्टमबापत ९ सय ५० रुपैयाँ प्रोत्साहनबापत अञ्चल अस्पताललाई दिने गरेको छ । जसमध्ये पोस्टमार्टम गर्ने चिकित्सकलाई ५ सय रुपैयाँ, सहयोगीको रूपमा खटिने सफाइकर्मीलाई २ सय रुपैयाँ र मेडिकल अभिलेख शाखाका कर्मचारीलाई २ सय रुपैयाँ र सरसफाइ गर्न २ सय ५० रुपैयाँ वितरण गरिन्छ ।
तर, पोस्टमार्टम गराउन जाने सेवाग्राहीसँग १ हजार देखि ३ हजार रुपैयाँसम्म खटिएका प्रहरी र अस्पतालका कर्मचारीले लिने गरेको सेवाग्राहीको आरोप छ ।