
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।
बुधवार गृह मन्त्रालयमा मृतक खुर्शिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिसँगको भेटमा गृहमन्त्री थापाले घटनालगत्तै छानबिन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे ।
उनले मृतक अन्सारीका परिवारप्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई शहीद घोषणा गरिसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम २–४ दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।
उनले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याइछाड्छौं ।’ उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रस्ट पारे ।
भेटमा सहभागी मृतक खुर्शिदका भाइ जावेद आलम र काका जमिल आलमले घटना भएको १ हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरिएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनीहरूले घटनापछि खुर्शिदलाई लाञ्छना लगाएर सञ्चारमाध्यममा आएको समाचारले आफूहरूलाई झनै पीडा थपिएको बताए ।
उनीहरूले मृतक खुर्शिदलाई नियोजित रुपमा आरोप लगाइएको भन्दै लगाइएको आरोप तथा आरोप लगाउनेबारे समेत छानबिन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।