काठमाडौं – बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आगामी २ महिनाभित्र काठमाडौं आइपुग्ने आयोजनाले जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा उपस्थित आयोजना प्रमुख सूर्यराज कंडेलले अहिलेकै गतिमा काम भए दशैंतिहारलगत्तै मेलम्चीको पानी राजधानी आइपुग्ने बताएका हुन् । अबको ६० दिनभित्र सुन्दरीजलमा पानी झरिसक्ने उनको दाबी छ ।
समिति सदस्य सुरेन्द्र पाण्डले कहिले र कसरी पानी काठमाडौं आइपुग्छ भन्ने प्रश्न गरेपछि जवाफमा कंडेलले भने– ‘विविध प्राविधिक समस्या समाधान गरिसकेका छौं । अहिल दैनिक २ सय मिटरको दरले काम भइरहेको छ । अब यसको गति बढाएर २ सय ५० मिटरसम्म पुर्याउने प्रयास गर्नेछौं । यही गतिमा काम भए बन्न बाँकी १० हजार ५ सय ३१ टनेल डेढ महिनाभित्रै बन्नेछन्, र ६० दिनभित्रै सुन्दरीजलमा पानी आइपुग्नेछ ।’
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पनि छिटोभन्दा छिटो मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताए । ठाकुरले भने, ‘अहिले राजधानी उपत्यकामा जोडिएको पाइलाइनमा विष्णुमती र वाग्मतीको पानी पठाएर परीक्षण गर्न लागिएको छ । सुन्दरीजलमा पानी झर्नेबित्तिकै काठमाडौंबासीको घरमा पानी पुग्नेछ ।’
छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सचिव ठाकुरले निरन्तर काम भइरहेपनि पशुपतिनाथले पनि साथ दिनुपर्ने बताए ।
उनले भने– ‘हामी निरन्तर काम गरिरहेका छौं । पशुपतिनाथले साथ दिए ६० दिनभित्रै पानी काठमाडौंमा आइपुग्नेछ, किनभने हरेक काममा गडले साथ दिनैपर्छ ।’
समिति सभापति दिलकुमारी रावल (पार्वती)ले छिटोभन्दा छिटो काम सम्पन्न गरी राजधानीमा पानी ल्याउन निर्देशन दिइन् ।
‘अब भाका नसार्नुस्, जनतालाई सधैँ ढाँट्ने काम गर्नुहुन्न,’ सभापति रावलले भनिन्, ‘दुई महिना भन्नुभएको छ, समयमै पानी आओस् ।’
बैठकमा खानेपानी मन्त्री वीना मगरलाई समेत बोलाइए पनि अस्वस्थताको कारण देखाउँदै उनी उपस्थित भइनन् ।
सार्वजनिक सरोकारका विषयमा छलफल गरी सरकारको ध्यानाकर्षण गराउन बनेको यस समितिले आगामी १४ गते मेलम्ची आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ ।
सभापति रावलले छलफलको अन्त्यमा आगामी १४ गते मेलम्ची अनुगमन गर्ने र त्यसपछि बृहत छलफल गर्दै जनतालाई जानकारी दिने बताइन् ।
त्यसअघि समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबारे छलफल गरेको थियो ।
चुरे क्षेत्रमा भइरहेको दोहन रोक्नेबारे भएको छलफलमा वनमन्त्री शक्तिबहादुर बस्नेतले विकास निर्माणका लागि स्रोत साधनको प्रयोग रोक्न नमिल्ने बताए ।
चुरे दोहन कहिले रोकिन्छ भन्ने सांसदहरू प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेले भने, ‘हामीले विकास निर्माण पनि गर्नैपर्छ । बालुवा गिट्टीका लागि चुरे प्रयोग गर्नुको विकल्प छैन । विकास गर्दै यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो ।’
उनले चुरेमा रहेको मानव बस्तीलाई स्थानान्तरणका लागि सोच्नुपर्ने बेला आएको बताए ।