
सर्वश्रेष्ठ मानव
आफ्नै जिन्दगीदेखि हारेर
मृत्युयात्रामा हिँड्दा,
खरानीले भुइँमा झर्न सिकाउँदा
धूवाँले माथि उड्न सिकायो,
ढुङ्गाले गहिराइमा डुब्न सिकाउँदा
डुङ्गाले खोला तर्न सिकायो ।
हिउँले छिनमै बिलाउन सिकाउँदा
पातले दिनमै पलाउन सिकायो,
आगोले स्वाम्मै जलाउन सिकाउँदा
रुखले झ्वाम्मै फलाउन सिकायो ।
बादलले हावासँगै सर्न सिकाउँदा
इन्द्रेणीले रंग भर्न सिकायो
अँध्यारोले केवल मर्न सिकाउँदा
घामले उज्यालो छर्न सिकायो ।
घृणाले जहिल्यै पिउन सिकाउँदा
प्रेमले सधैं जिउन सिकायो
काँडाले सधैं घोच्न सिकाउँदा
फूलले माला सिउन सिकायो ।
जीवनको पनि त आफ्नै अस्तित्व र ज्ञान रहेछ
हार्दा पो जिन्दगी शून्य शून्य शून्य
बाँच्दा त केवल वरदान रहेछ ।