२३ असार २०८३, मंगलबार

जीवनदर्शन (कविता)

कात्तिक २०, २०७४
जीवनदर्शन (कविता)

सर्वश्रेष्ठ मानव
आफ्नै जिन्दगीदेखि हारेर
मृत्युयात्रामा हिँड्दा,
खरानीले भुइँमा झर्न सिकाउँदा
धूवाँले माथि उड्न सिकायो,
ढुङ्गाले गहिराइमा डुब्न सिकाउँदा
डुङ्गाले खोला तर्न सिकायो ।

हिउँले छिनमै बिलाउन सिकाउँदा
पातले दिनमै पलाउन सिकायो,
आगोले स्वाम्मै जलाउन सिकाउँदा
रुखले झ्वाम्मै फलाउन सिकायो ।

बादलले हावासँगै सर्न सिकाउँदा
इन्द्रेणीले रंग भर्न सिकायो
अँध्यारोले केवल मर्न सिकाउँदा
घामले उज्यालो छर्न सिकायो ।

घृणाले जहिल्यै पिउन सिकाउँदा
प्रेमले सधैं जिउन सिकायो
काँडाले सधैं घोच्न सिकाउँदा
फूलले माला सिउन सिकायो ।

जीवनको पनि त आफ्नै अस्तित्व र ज्ञान रहेछ
हार्दा पो जिन्दगी शून्य शून्य शून्य
बाँच्दा त केवल वरदान रहेछ ।





salt training

कमेन्ट गर्नुहोस्