१३ असार २०८३, शनिबार

अस्थायी प्रहरी बिटको उदघाटन गर्न पुगे गृहमन्त्री थापा

अस्थायी प्रहरी बिटको उदघाटन गर्न पुगे गृहमन्त्री थापा

काठमाडौं-    लागूऔषध, गुण्डागर्दी, ठगी, भष्ट्राचार जस्ता समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी र स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताउनुभएको छ । 
    काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित नवनिर्मित महानगरीय अस्थायी प्रहरी बिटको शुक्रबार उदघाटन गर्दै गृहमन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । 
    देश विकासको लागि हरेक क्षेत्रमा पूर्वाधारको विकास हुन जरुरी रहेको तथा विकास निर्माणमा सुशासन व्यवस्थापन मजबुद हुनुपर्ने चर्चा गर्दै उहाँले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिई जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
आमनागरिकको सहकार्यमा निर्माण भएको उक्त बिट उदाहरणीय कार्य रहेको चर्चा गर्दै गृहमन्त्री थापाले जनअपेक्षा र आवश्यकता अनुरुप नेपाल सरकार विकास तथा पूर्वाधार निर्माणमा क्रियाशील रहेको बताउनुभयो । 
उक्त अवसरमा ३ नम्बर क्षेत्र काठमाडौंका सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रगति महिला समूहकी अध्यक्ष फूलमाया तामाङ र समाजसेवी कृष्ण केसीले समेत आ-आफनो मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमाछिरी शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही समितिका कोषाध्यक्ष बिष्णुप्रसाद लामिछानेले बिट निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गोकर्णेश्वर नगरपालिका र माकलबारी टोल सुधार समितिको सहकार्य तथा स्थानीय संघसंस्था र जनताको सहभागितामा कूल ८ लाख ७४ हजार ३ सय ७० रुपैयाँ लागतमा उक्त अस्थायी प्रहरी बिट निर्माण सम्पन्न भएको हो । 
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु लगायत स्थानीय नागरिकको समेत उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्