
झापा–एक दुई जोडीमात्र होइन, १० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् ।
झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकीमा रहेको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा जुम्ल्याहा बालबालिका पढ्ने यस्तो संयोग मिलेको छ । फरक फरक घरमा फरक फरक समुदाय र लिङ्ग भए पनि एउटै विद्यालयमा कसरी यो संयोग मिल्यो भन्ने बिषय थप खोज र अनुसन्धानको बिषय बनेको छ । जुम्ल्याहा बालबालिकाले परिचित यो बिद्यालयमा उनीहरूका ब्यवहारले भने सबैलाई अचम्मित बनाउने गरेको छ ।
विद्यालयका अनुसार उनीहरूले देखाउने समान आनीबानी र चालचलन झन् चाखलाग्दो छ । जुम्ल्याहा बालबालिका प्रायःजसो आफ्ना जोडीसँग एकै प्रकारको अनुहार, झट् हेर्दा उस्तै लाग्ने कारण शिक्षकहरू नै धेरै पटक झुक्किने गरेको बिद्यालयका प्रधानाध्यापक हेमलाल आचार्य बताउँछन्, आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ।