
काठमाडौं– भारत एसिया कपको च्याम्पियन बनेको छ । अन्तिम ओभरको अन्तिम बलमार्फत जित निकाल्दै भारतले सातौँ पटक एसिया कपको उपाधि चुमेको हो ।
शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशले दिएको २ सय २३ रतको लक्ष्य भारतले अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । उपाधिका लागि फाइनलमा भारतलाई सहज हुने अनुमान गरिएपनि बंगलादेशसँग जितका लागि भारतीय ब्याट्सम्यानलाई निकै मेहनत गर्नुपर्यो ।
भारतलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक थियो । भारतसँग तीन विकेट बाँकी थियो । बंगलादेशले अन्तिम ओभरमा महमुदुल्लाहलाई बलिङ गर्न दियो । क्रिजमा कुलदीप यादव र केदार जाधव थिए । कुलदीपले त्यसभन्दा पहिले मात्रै एक बल फेस गरेका थिए ।
कुलदीपले अन्तिम ओभरको पहिलो बलमा एक रन बनाए । दोस्रो बलमा केदारले एक रन लिए । तेस्रो बलमा कुलदीपले दुई रन लिए । अब बाँकी ३ बलमा भारतलाई जितका लागि मात्र दुई रनको खाँचो थियो । चौथो बलमा कुनै रन बनेन । भारतलाई दुई बलमा अब दुई रन आवश्यक भयो । पाँचौ बलमा कुलदीपले एक रन लिए ।
अन्तिम बलमा भारतलाई एक रन चाहियो र क्रिजमा थिए केदार जाधव । उनले अन्तिम बलमा प्रहार गरेको शर्ट फाइन लेगतर्फ गयो । भारतले लेगबाईमार्फत पाएको एक रनले उपाधि आफ्नो हातमा पार्यो ।