धनगढी – डडेल्धुराको पर्शुराम नगरपालिकाकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएको खुलेको छ ।
घटना असोज ९ गते राति भएपनि किशोरीका परिवारले प्रहरीलाई जानकारी दिन ढिलाइ गरेकाले ३ दिनपछि शुक्रवार मात्रै प्रहरीमा जाहेरी परेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घटनामा संलग्न रहेको आशंकामा १ जना युवक पक्राउ परेका छन् भने १ जना फरार रहेका छन् ।
असोज ९ गते राति अनन्ते मेलाबाट घर फर्किने क्रममा पर्शुराम नगरपालिका–४ पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए । जाहेरीको आधारमा २ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
आरोपीमध्ये पक्राउ परेका बोहराबारे थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरेको छ । बोहरा नेपाली कांग्रेस निकट नेपाल तरुण दलको पर्शुराम नगरपालिका–४ का पूर्व वडा संयोजक हुन् । फरार रहेका अर्का आरोपी जोशीको खोजी कार्य भइरहेको जनाइएको छ ।
किशोरीको अवस्था हाल सामान्य रहेको छ । स्वास्थ्य परीक्षणपछि उनलाई परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक साउँदले जनाए ।