
काठमाडौं — अहिले संसारभरि मोटोपन मानिसहरूका लागि समस्याका रूपमा आइरहेको छ । मोटोपन घटाउनका लागि बजारमा चियापत्तीदेखि लिएर व्यायामका कुराहरू उपलब्ध छन् ।
यसै सिलसिलामा जापानको एक कम्पनीले अनौठो जुत्ता ल्याएको छ । कम्पनीका अनुसार, यो जुत्ताले मोटोपन घटाउन सहायता गर्छ र शरीरको अतिरिक्त बोसोलाई घटाउँछ ।
कम्पनीका अनुसार, यो जुत्ता लगाएर मर्निङ वाक गर्दा ३०० क्यालोरीसम्म कम गर्न सकिन्छ । यो जुत्ता किन पनि विशेष छ भने यसको तौल नै बढी छ । सामान्य जुत्ताको तौल २०० देखि ४०० ग्राम हुन्छ भने र यो जुत्ता १२ सयदेखि १४
सय ग्रामको हुन्छ । तौल भारी बनाउनका लागि यसमा विशेष तलुवा प्रयोग गरिएको छ ।
जुत्ताको तलुवामा १०० भन्दा बढी फलामका डल्ला छन् । जुत्तालाई लगाउन सजिलो हुने गरी डिजाइन गरिएको छ । कम्पनीले जुत्ताको परीक्षण गर्नका लागि वैज्ञानिकको पनि सहायता लिएको छ ।
परीक्षणपछि के पत्ता लाग्यो भने जुत्ताको सहायताले बोसो घटाउन त सहायता पुग्छ नै, हाडहरू पनि बलिया हुन्छन् । जुत्ता लगाएर हिँडडुल गर्दा २५ प्रतिशतभन्दा बढी दरमा तौल घट्छ ।
एजेन्सी