रामपुर (पाल्पा), १३ फागुन। अर्गानिक तरकारी उत्पादनलाई जिल्ला कृषि विकास कार्यालयले जोड दिए पनि उत्पादन बढाउन सकिएको छैन ।
विषादीको प्रयोग न्यूनीकरण गरी अर्गानिक उत्पादन बढाउन जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (आइपिएम) कृषक पाठशाला चलाए पनि कृषकले विषादीरहित उत्पादन लिन नसकिरहेको अवस्था छ ।
अर्गानिक रुपमा उत्पादित तरकारीको मूल्य नपाउनु र लगानीअनुसारको उत्पादन नभएपछि कृषकले नचाहँदा नचाहँदै पनि विषादीको प्रयोग गर्नु परेको छ । रामपुरका अगुवा कृषक गीता भट्टराई केही वर्ष अगाडि अर्गानिक तरकारी उत्पादन गर्ने प्रयासमा लागे। उत्पादन बढाउन नसकेपछि उहाँ विषादी प्रयोग गर्न बाध्य भए। विषादीको प्रयोग नगरे तरकारीका बोटबिरुवा जोगाउनै नसकिने उनको भनाइ छ ।
“अर्गानिक उत्पादनलाई जोड दिन खोजेको हो, उत्पादन नबढेपछि लगानी पनि उठाउन सकिएन, अर्गानिक वस्तु विषादीयुक्त तरकारीसँग बजारमा प्रतिस्पर्धा गर्न गाह्रो छ,” उनले भने।
यस्तै घनश्याम देवकोटाले विषादीको प्रयोग छाड्ने सङ्कल्प गरेर अर्गानिक उत्पादनलाई जोड दिनुभयो । एक दुई वर्षसम्म उहाँले तरकारीमा विषादीको प्रयोग गरेनन्। अर्गानिक वस्तुका उपभोक्ताले महत्व नबुझ्ने, सस्तो मूल्यमा बाहिरबाट बजारमा आएका विषादीयुक्त तरकारीमा उपभोक्ताको आकर्षण बढेपछि अर्गानिक उत्पादनले लगानी उठाउन समस्या परेको उनको भनाइ छ ।
कृषि विकास कार्यालयले अर्गानिक कृषि उत्पादनमा कृषक सामु ठूलो लगानी गरेको छ । लगानी र उद्देश्यअनुसार कृषक र उपभोक्ताले मर्म नबुझिदिँदा विषादीको मात्रा घट्न नसकेको हो। हिजोआज बजारमा कृषि उत्पादनको माग बढ्दो, उत्पादनकर्ता कम भएका कारणले पनि विषादीको निर्मूल हुन सकेको छैन।
कृषकले प्राविधिकको सहयोग तथा सुझाव बिना अन्धाधुन्ध विषादीको प्रयोग गरी मानवीय स्वास्थ्य र वातावरणीय क्षेत्रमा यसको प्रभाव नराम्रोसँग पर्न थालेपछि सरकारको बाली संरक्षण निर्देशनालयद्वारा २०५५ सालदेखि जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (कृषक पाठशाला) सञ्चालनमा ल्याइएको हो।
अहिलेसम्म जिल्लामा ६६ वटा कृषक पाठशाला सञ्चालन गरेर एक हजार ७१६ कृषकलाई अर्गानिक कृषि उत्पादनसम्बन्धी जानकारी गराइएको बाली संरक्षण अधिकृत कफिल अहमदले बताए। सत्तरी प्रतिशत तरकारी खेतीमध्ये गोलभेँडा, काउली, बन्दा र ३० प्रतिशत धान बालीमा पाठशाला सञ्चालन भइसकेको छ।
पाठशालाबाट कस्तो अवस्थामा विषादीको प्रयोग कसरी गर्ने, प्रयोग गरिसकेपछि कति दिनपछि मात्र उपयोगमा ल्याउने, कृषक आफैँले खेतबारीमा गरेर सिक्ने, बालीबिरुवाको नियमित अवलोकन, बालीबिरुवामा लाग्ने शत्रु जीव र मित्रु जीवको पहिचान, अर्गानिक कृषि उत्पादन, विषादीको न्यूनीकरणजस्ता ज्ञान सीप कृषकलाई सिकाइने योजना शाखाका प्राविधिक ज्ञानकुमार यादव बताउछन्।
उपभोक्ताले पनि अर्गानिक वस्तुको प्रयोगमा ध्यान दिए बालीनालीमा विषादीको न्यूनीकरण कम हुँदै जाने थियो । उपभोक्ता र कृषकले नै वस्तुको उत्पादन नबुझेसम्म कृषि विकास कार्यालयले जुनसुकै अभियान सञ्चालन गरेपनि विषादीको प्रयोग निर्मूल पार्न गाह्रो छ। रासस