काठमाडौं,१३ फागुन– अमेरिकाको केन्सास शहरमा ३२ बर्षीय भारतीय इन्जिनियर श्रीनिवास कुचीभोटलाको गोली हानी हत्या भएपछि परिवारजन शोकमा डुबेका छन् । उनका परिवारले ट्रम्पको नीतिका कारण आफ्नो छोराको ज्यान गएको आरोप लगाएका छन् ।
हत्याका सम्बन्धमा अमेरिकास्थित महावाणिज्य दूतावासका अधिकारीले जाँच गरिरहेको छ ।
ती युवकसँगै घाइते भएका अर्का भारतीय युवकसँग पनि प्रहरी सोधपुछ गरिरहेको छ । केन्सास शहरको एक बार रेष्टुरेन्टमा बसिरहेका बेला ती युवकमाथि हमला भएको थियो र हत्या गर्ने व्यक्तिले पेस्तोल चलाउनु अघि ‘मेरो देशबाट बाहिर निस्क’ भन्दै चिच्याउँदै कराएको स्थानीय समाचारले जनाएका छन् ।
हत्याको आरोप लागेका ५१ बर्षीय एडम परिटनले बारभित्र पेस्तोलले धेरै राउण्ड फायरिङ गरेका थिए । उनको फायरिङबाट दुईजना घाइते भएका छन् । एक मृतकको साथी रहेको र अर्को स्थानीय युवक नै रहेका छन् । मिडिया रिपोर्टका अनुसार एडम एक अमेरिकी नेवीबाट रिटायर्ड भएका व्यक्ति हुन् । प्रहरीले उनलाई पक्रेका छन् । घटनामा मृतक श्रीनिवासका साथी आलोक मदासिनी उपचारपछि घर फर्केका छन् ।मृतक इन्जिनियर श्रीनिवास मृतकका परिवारले छोराको मृत्युको जिम्मेवार ट्रम्प रहेको बताएका छन् । ट्रम्प नीतिका कारण नै आफ्नो छोराले ज्यान गुमाउन परेको उनीहरुको आरोप छ ।
मृतक श्रीनिवास र उनका साथी मदासनी केन्सासको ओलेथ शहरस्थित जीपिएस बनाउने कम्पनीमा गारमिन इन्जिनियरका रुपमा काम गर्थे । केही बर्ष अगाडि उनीहरु रोजगारीका लागि अमेरिका पुगेका थिए । एजेन्सी