
काठमाडौं — बार्सिलोनाका प्रमुख जोसेप बार्टोमेउले पेप ग्वार्डिओला क्लब फर्किन चाहेमा ढोका सधैं खुला रहेको बताएका छन् ।
म्यानचेस्टर सिटीका व्यवस्थापक ग्वार्डिओलाले चार वर्ष बार्सिलोना क्लबको व्यवस्थापन गरेका थिए । उनले आफ्नो करीयर नू क्याम्पमा अन्त्य गर्न चाहेको बताएका छन् ।
अनि बार्सिलोनाका अध्यक्षले ४७ वर्षीय ग्वार्डिओलालाई खुला दिलले स्वागत गर्ने बताए ।
बार्टोमेउले भने, ‘उनी भविष्यमा बार्सिलोना आउने योजना बनाइरहेका छन् र ला मासियाको व्यवस्थापन गर्ने इच्छा देखाउँदैछन् भनी मैले केही समयअघि पढेको थिएँ । उनले त्यसो गरे भने क्लबका लागि राम्रो खबर हो । उनका लागि
ढोका खुला छ भन्ने उनलाई पनि थाहा छ । उनले सन् २०१२ मा क्लब छोड्छु भन्दा पनि हामीले उनलाई ला मासियाको व्यवस्थापन गर्ने सुझाव दिएका थियौं ।’
बार्सिलोनालाई तीनवटा ला लिगा उपाधि अनि कुल १४ वटा प्रमुख उपाधि दिलाएका ग्वार्डिओला त्यसपछि बायर्न म्युनिखको व्यवस्थापन गर्न पुगेका थिए । सन् २०१६ मा उनी म्यानचेस्टर सिटीको व्यवस्थापक नियुक्त भएका थिए ।
एजेन्सी