नेपाली हास्यव्यङ्ग्य तथा कलाकारिता क्षेत्रमा एक स्थापित नाम हो मनोज गजुरेल । नाकाबन्दीले देशलाई चरम अभावमा पारेको बेला उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गरेर विदेशी मिडियामा समेत चर्चामा आएका थिए । उनी यसलाई नेपाली कलाकारकै गर्वको विषय मान्छन् ।

पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको हाउभाउलाई दुरुस्तै आफूमा उतार्ने खुबी भएका गजुरेलका धेरैजसो व्यङ्ग्य नेपाली नेतामाथि नै केन्द्रित छन् । पात्रको चरित्रलाई जस्ताको तस्तै हाउभाउमा उतार्ने गजुरेलको प्रहसन हिट पनि हुने गरेको छ ।
कतिपटक त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनय गर्दा कतिले त उनलाई वास्तविक मोदी नै ठाने । त्यसो त उनले क्यारिकेचर गरेको अभिनयमा वास्तविक पात्र नै भेटिन्छ ।
‘एकपटक कार्यक्रमको सिलसिलामा हामी स्याङ्जाको वालिङ गएका थियौं । भारतका केही मजदूरले मलाई सक्कली मोदी भन्ठानेर खुट्टा ढोग्न आए,’ उनी त्यो समय स्मरण गर्दै सुनाउँछन्, ‘म मोदीको भेषमा थिएँ । उनीहरूले त साँच्चिकै नरेन्द्र मोदी आएको ठानेछन् ।’
उनीहरूले खुट्टा समात्दा भारतीयहरूमा आफ्नो देशप्रतिको प्रेम साँच्चिकै प्रगाढ छ भन्ने लागेको बताउँछन् गजुरेल ।
‘भारतीय संविधान, भारतीय जनता र भारतलाई अपार सम्मान गर्छौं । त्यहाँका जनताको हामी कदर गर्छौं तर व्यङ्ग्यमार्फत भारतीय रवैयाको विरोध गर्छौं,’ उनी थप्छन् ।

खासगरी नेताको क्यारिकेचर गर्ने गजुरेलले पूर्वराजा ज्ञानेन्द्रको नक्कल उतार्दा दर्शकको अपार माया पाए । त्यसअघि राजाकै क्यारिकेचरमा त्यस्ता व्यङ्ग्य भएका थिएनन् । ‘पहिले त्यसरी राजाको क्यारिकेचर कसैले गरेका थिएनन् । एक हिसाबले मैले जोखिम उठाएको हुँ ।’
लालबाबु पण्डित, पुष्पकमल दाहाल, लोकमानसिंह कार्की, नरेन्द्र मोदी लगायतका मानिसको क्यारिकेचर आफ्नो प्रतिभालाई अब्बल बनाएका गजुरेल कहिलेकाहीँ एउटै स्टेजमा सबै कलाकारको प्रहसन गर्दा भने समस्या पर्ने गरेको बताउँछन् ।
उनी भन्छन्, ‘कहिलेकाहीँ एकल कार्यक्रम चलाउँदा मोदीको अभिनय गरिरहेको हुन्छु । बीचमा फ्याट्ट प्रचण्डको लबज बोलिन्छ । गाह्रो हुन्छ ।’
कार्यक्रमको दौरानमा उनी एकपटक अमेरिकामा स्टेज कार्यक्रम गर्दै थिए । उनले प्रचण्डको भूमिका गर्नुपर्ने थियो । गजुरेल प्रचण्डको गेटअपमा थिए । दर्शकले हल खचाखच भरिएको थियो । प्रहसन चलिरहेको थियो । प्रचण्डले झैं भाषण पनि दिइरहेका थिए । कार्यक्रम चलाउँदा चलाउँदै जुँगा खस्यो ।

एकछिन त अब के गर्ने भनेर अलमलमा परे । तर उनलाई दुई सेकेन्डमै निर्णय लिइसक्नुपर्ने थियो – स्टेज छोड्ने कि, कार्यक्रमलाई निरन्तरता दिने भनेर ।
फ्याट्ट बोलिहाले – ‘मने, यो जुँगा नेपालमा किनेको होइन । अमेरिकामा किनेको हो । अमेरिकाको जुँगा त यति कमजोर छ भने यहाँको साम्राज्यवाद कति कमजोर होला?’ हलभरि झन् हाँसो फैलियो ।
गजुरेलका हरेक प्रहसन किन दर्शकले रुचाइदिए होलान् त ? उनी भन्छन्, ‘म कलाकार मात्र होइन, राम्रो लेखक पनि हो । मेरो सकारात्मक पक्ष भनेको म आफैंले स्क्रिप्ट लेख्छु ।’
उनले अठार जनजातिका भाषासहितको व्यङ्ग्य एकैपटक गरे । उनलाई यो चुनौती पनि थियो । हाम्रो भाषामाथि व्यङ्ग्य ग–यो भन्ने आरोप आउने भय पनि थियो उनलाई ।
हास्यव्यङ्ग्य गरिने वर्गको हृदय अझैपनि फराकिलो हुन सकेको छैन भन्ने लाग्छ गजुरेललाई । ‘व्यङ्ग्यले मान्छेलाई प्रभाव पार्दोरहेछ,’ उनी भन्छन् ।
राजनीतिक व्यङ्ग्यमा अब्बल गजुरेलले प्रायः नेताको क्यारिकेचर गरेपनि कमै मात्र नेतामा व्यंग्य पचाउने पाचनशक्ति छ भन्छन् उनी । ‘नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हास्यचेत भएका र व्यङ्ग्य पचाउने नेता थिए,’ उनी आफ्नो धारणा सुनाउँछन् ।
‘त्यसपछि प्रचण्डलाई पनि भट्टराईकै कोटिमा राख्ने प्रयास गर्छु,’ उनी थप्छन् ।
उनलाई लाग्छ – माधव नेपालसँग व्यङ्ग्य पचाउने त्यति सामर्थ्य छैन । अर्का नेता शेरबहादुर देउवासँग त झन् व्यङ्ग्य पचाउने तन्तु नै छैन । उनी हाँस्न नजान्ने रुखो नेता भएको गजुरेलको टिप्पणी छ ।
‘बाबुराम भट्टराईसँग न हास्य छ, न व्यङ्ग्य ।’ उनी भन्छन्, ‘उनको सिद्धान्त बलियो छ । तर उनीसँग जनतालाई कसरी हँसाउने भन्ने आइडिया नै छैन ।’
‘हामीले त दर्शकको अनुहार हसाउँछौं । तर नेताले राम्रो गरे जनताको हृदय हँसाउन सक्छन्,’ उनी थप्छन् ।
आफूले यो सबै सफलता योग र साधनाले गर्दा नै सम्भव बनाएको बताउँछन् गजुरेल । ‘प्राकृतिक रूपमा पनि मेरो अनुहार धेरैसँग मिल्छ । म पात्रको हाउभाउ जस्ताको तस्तै कपी गर्न पनि सक्छु,’ उनी बताउँछन् ।