२८ जेठ २०८३, बिहीबार

कैलालीमा मानसिक रोगीको अवस्था भयावह, ७ हजार बढी बिरामी

असोज २०, २०७५
कैलालीमा मानसिक रोगीको अवस्था भयावह, ७ हजार बढी बिरामी

धनगढी – पछिल्लो समय मानसिक रोगीको संख्यामा बढोत्तरी भएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा मात्रै ७ हजार २७ जना मानसिक स्वास्थ्य समस्या भएका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । 

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २ हजार ७ सय १ जना, ०७३/०७४ मा २ हजार ३ सय ३४ जना र ०७४/०७५ मा १ हजार ९ सय ९२ जना गरी ७ हजार २७ जना रहेको पाइएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंक चापागाईका अनुसार यो तथ्यांक ३७ वटा स्वास्थ्यचौकी, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, २ वटा अस्पताल (टीकापुर र मालाखेती), १७ वटा सरकारी निकायमा दर्ता भएका निजी अस्पताल र सामुदायिक सहरी स्वास्थ्य केन्द्रबाट आएको हो । 

तथ्यांक अनुसार सबैभन्दा बढी डिप्रेसनका बिरामी देखिएका छन् । जसमा ३ वटै आर्थिक वर्षका गरी १ हजार ७ सय ८७ जना रहेका छन् । चिन्ता लाग्ने रोगमा १ हजार ६ सय ७५ जना, मृगी रोगमा ५ सय २ जना, कडा खालको मानसिक रोगमा मानसिक असन्तुलन २ सय ४८ जना रहेका छन् ।

तथ्यांक अनुसार मानसिक रोगका बिरामी बढ्दै गएको देखिन्छ । यो संख्या बढ्नुमा विभिन्न गैरसरकारी र सरकारी निकायबाट स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिएकाले र जनचेतनाका कारणले बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंकप्रसाद चापागाईको भनाई छ ।

जनस्वास्थ्य प्रमुख चापागाईले भने, ‘सेती अञ्चल अस्पतालमा आउने बिरामीको संख्या यो तथ्यांकमा समावेश गरिएको छैन । हामीलाई अस्पतालले तथ्यांक पठाउँदैनन् । अञ्चल अस्पतालमा आउने बिरामी संख्या समावेश गर्ने हो भने बढ्न सक्छ ।’

धेरैजसो बिरामी भारतका विभिन्न शहरमा गएर उपचार गराउने तथा अझै पनि धेरैजसो बिरामी जनचेतना अभावमा घरमै बस्ने र उपचार गराउन नआएकाले यो संख्या केही कम देखिएको बताइएको छ ।

कैलालीमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालको कार्यक्रम लागू भएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय  ७४ जना, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ७९ जना, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३१ जना, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा ८१ जना र मालाखेती अस्पतालमा २ सय ६७ जना मानसिक स्वास्थ्य समस्याको उपचार गराइसकेका छन् ।

परामर्श केन्द्रका मानसिक स्वास्थ्य संयोजक विष्णुप्रसाद प्रजापतिका अनुसार स्वास्थ्य संस्थामा जँचाउन आउने बिरामीमा डिप्रेसन र चिन्ताको बिरामी बढी रहेको बताए । मानसिक असन्तुलन, मृगी रोगको बिरामी पनि कैलालीमा धेरै रहेको संयोजक प्रजापतिको भनाई छ ।

धेरैजसो बिरामी सीमावर्ती शहरमा गएर जँचाउने, जनचेतना अभावका कारण घरमै लुकाउने प्रवृत्ति अहिले पनि रहेकाले पनि धेरै बिरामी उपचारबाट वञ्चित रहेको चिकित्सक बताउँछन् । मानसिक स्वास्थ्य स्वावलम्वन समूह जिल्ला सञ्जाल कैलालीका अध्यक्ष ईश्वरा विक भन्छन्, ‘मानसिक बिरामीलाई घरमा लुकाएर समयमा नै औषधी उपचार गराउन सके निको बनाउन सकिन्छ । यसका लागि सरकारी निकायबाट औषधी उपचार, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा उपचारबाट निको भएकाका लागि जीविकोपार्जन सहयोग जरुरी छ ।’

सन् २००७ मा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसन्धान अनुसार विश्वमा मानसिक रोगका बिरामी २५ देखि ३० प्रतिशत रहेको उल्लेख गरेको छ । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्यकर्मीको भनाई अनुसार २० देखि २५ प्रतिशत नेपाली जनतामा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको बताउँदै आएका छन् । विक्रम सम्वत् २०६८ सालमा गरिएको जनगणना अनुसार कैलाली जिल्लामा बसोबास गर्ने व्यक्तिको संख्या ७ लाख ७५ हजार ७ सय ९ जना रहेको छ । 

जनसंख्यालाई आधार मानी २० प्रतिशत मात्रै मानसिक रोगलाई मान्ने हो भने पनि करीब १ लाख ५५ हजार १ सय ४२ जनामा कुनै न कुनै मानसिक समस्या हुन सक्ने अनुमान लगाउन सकिने बताउँछन् सीएमसी नेपालका मनोपरामर्शकर्ता अनत चौधरी ।

नेपालमा मानसिक स्वास्थ्यको अवस्थाबारे हालसम्म कुनैपनि सरकारी तथा गैरसरकारी निकायबाट बृहत अध्ययन अनुसन्धान नभएको दाबी गर्दै उनले प्रदेश तथा संघीय सरकारले आवश्यक नीति तथा कार्यक्रम बनाएर निकास खोज्नुपर्ने औल्याए ।

salt training

कमेन्ट गर्नुहोस्