
काठमाडौं — यूएईको राजधानी अबु धाबीबाट नेदरल्यान्ड्सको एम्सटरडमका लागि उडेको विमानमा यात्रीहरूले झगडा गर्दा हंगामा मच्चिएको छ ।
हंगामाको खबर पाएपछि नेदरल्यान्ड्सको वायुसेनाले सम्भावित खतराका कारण दुईवटा एफ–१६ विमान पठाएको छ ।
तर खासमा केही यात्रीबीचको झगडालाई विमान कर्मचारीले नै मिलाए ।
एक अधिकारीका अनुसार, आफ्नो सीटमा बस्न निर्देशन दिइएपछि २९ वर्षीय अमेरिकी यात्री भड्केका थिए । विवाद बढ्दै गएपछि क्याबिन क्रु र अन्य यात्रीले अमेरिकी युवकलाई सम्हाले । झगडामा केही यात्रीलाई हल्का चोट लाग्यो र
दुई यात्रीको आँखावरिपरिको भाग सुन्नियो ।
घटनापछि विमानलाई एम्सटरड्यामस्थित शिफोल विमानस्थलमा अवतरण गरियो । विमानबाट ओर्लनेबित्तिकै अमेरिकी युवकलाई पक्राउ गरियो । प्रारम्भिक अनुसन्धानमा उक्त युवकमा मानसिक असन्तुलन रहेको अधिकारीहरूले
पाए । त्यसपछि उनलाई मानसिक अस्पताल लगियो ।
अधिकारीहरूले एयरलाइन्स र विमानको नाम बताएनन् ।
एजेन्सी