
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको लागि गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई बुझाएको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।
गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना लामो अनुसन्धान पछि तयार पारेको प्रतिवेदन गृह मन्त्रालयले आइतवार साँझ सार्वजनिक गरेको हो ।
छानबिन प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्ली राज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदि बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ ।
बम दिदिबहिनीले दिएको बयान र तथ्य फरक फरक देखिएको भन्दै छानबिन समितिले उनीहरुको भूमिकालाई शंकास्पद भनेको छ ।
बबिता भनिने अनिता बमले घटना भएको दिन (साउन १० गते) आफू ट्युसन पढ्न गएको बयान दिएकी थिइन् । बबिताले स्थानीय मिराई एजुकेशन भिसा सेन्टरमा ट्यूसन पढ्न गएको बयानमा बताएकी थिइन् ।
छानबिन समितिको बयानका आधारमा बबिता उक्त दिन ट्युसन पढ्न नगइ ट्युसन सञ्चालकलाई ‘यहाँ पढ्न आएकी हो’ भन्न लगाएको तथ्य समितिको छानबिनबाट फेला परेको छ ।
‘मिति २०७२।४।१० अनिता (बबिता) बम ट्यूसन पढ्न आएको यकीन छैन । सो विषयमा प्रहरीले मेरो कापी मगाउन साउन १० गतेको ट्यूसन पढेको नोटकर्पीको फोटोकपी गरेर लगेका हुन् भन्ने मिराई एजुकेशन भिषा सेन्टर मा ट्यूसन पढ्ने विद्या पन्तको भनाइ, उक्त दिन अनिता बम ट्यूशन पढ्न आए–नआएको यकीन नभएको सो ट्यूसन सेन्टरका सञ्चालक वावुराम राउतको भनाइ । साथै अनिता बम र निजका बुवा स्वयं सो ट्यूसन सेन्टरमा गई उक्त दिन ट्यूशन पढ्न आएको भनी हो भनिदिनु पर्यो भनेर गरिएको आग्रहसमेतलाई आधार मान्दा निज अनिता बमको गतिविधि शंकास्पद देखिन्छ,’ समितिले प्रतिवेदनमा घटना विवरण उल्लेख गर्दै भनेको छ ।