
काठमाडौं– सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आइतबार साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेल्चेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै समितिले अब तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।
गत भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ ।
पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ । शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै पन्त जुन घरबाट हराएको हो सोही घरमा बस्ने बविता भनिने अनिता बम र रोशनी भनिने आँचल बमलाई हिरासतमा लिइ अनुसन्धान प्रक्रिया थालनी नगरेको र स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरी सार्वजनिक गरेको उल्लेख छ ।
यस्तै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, नीलो रङको गञ्जी र खैरो रङको जिन्स पाइन्ट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षाका लागि भदौ ८ गते पठाएको भदौ १० गते नमूना सच्याउन पत्र लेखेको पाइएको छ । पन्तको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्री बस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको र उक्त बस्त्र नै लोप गरिएको, पन्तका बाबु यज्ञराज साउन १२ गते मात्रै नेपाल फर्केको भए पनि साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खडा गरेको दसी प्रमाणमा सनाखत मुचुल्का कागजातमा मृतकका बाबुको नाममा सही छाप गरेको पाइएको छ ।
तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्य प्रहरीको काम कारवाहीप्रति विस्वस्थ हुन नसकेको, मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले अनावश्यक दबाब दिएकोसमेत प्रतिवेदनमा उल्लेख छ । यस्तै घटनास्थलमा भेटिएको कापी साइकल रहेको स्थानदेखि एक किलोमिटर टाढा पानीमा रहेको भनिए पनि कापी भिजेको नदेखिएको, नीलो जेल पेनले लेखेको कुनै पनि अक्षर नमेटिएको, रोशनी बमको घरबाट लगेको भनिएको अम्बा बरामद नगरेको र तत्कालीन अवस्थामा छानबिन टोलीमा रहेका प्रहरी कर्मचारीलाई तत्काल छानबिन गरी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।
शव फेला परेको स्थानको सुरक्षा र शव जाँच मुचुल्का एवं अनुसन्धान गर्न खटिएका टोलीले जिम्मेवारी पूरा नगरेको पाइएकाले पदीय तह र जिम्मेवारी एवं भूमिका अनुसार छानबिन गरी विभागीय कारवाही गर्नुपर्ने छानबिन समितिको सुझाव छ । यस्तै प्रहरी उपरीक्षक विष्टले आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको अनुसन्धानमा समेत पदीय जिम्मेवारी पूर्णत पालना नगरेको पाइएकाले विभागीय कारवाही गर्न समितिले सुझाव दिएको छ ।
त्यस्तै पीडित परिवारको सुरक्षालगायत सामान्य जीवनयापन प्रभावित भएको भए राज्यको तर्फबाट सामाजिक पुनःस्थापना गर्नुपर्ने र घटनाको अनुसन्धान तथा सहयोगीका रुपमा खटिएका प्रहरी तथा कर्मचारीको काम कारवाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाक्रमका आधारमा संलग्नता देखिएका पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउन सुझाव दिइएको छ ।
नेविसंघमा ३२ वर्षे उमेरहदको विवाद शीर्ष नेताले नै लेखे ‘नोट अफ डिसेन्ट’
नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।
आइतबार दिउँसो ४ बजेदेखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको थियो ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा. महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।, नयाँ पत्रिकामा खबर छ ।
निजामती सेवा विधेयक हेरफेर हुँदै
सरकारले संघीय निजामती सेवा विधयेकका विभिन्न प्रावधानलाई हरेफर कार्यअघि बढाएको छ । विभिन्न कर्मचारी संगठनले प्रस्तावित विधेयकप्रति व्यापक असन्तुष्टि जनाउँदै संशोधन गर्न राजनीतिक नेतृत्वमा दबाब दिएपछि सरकारले प्रस्तावित विधेयकलाई हेरफर गर्न लागेको हो ।
मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिमा मन्त्रीहरू सो विधयेक हेरफेर गर्नुपर्ने टुंगोमा पुगेका हुन् । त्यसपछि मन्त्रिपरिषद्मा विचाराधीन रहेको सो विधेयकको हेरफर गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विधेयकको अध्ययन गरी हेरफेर गर्ने कार्य अघि बढाइरहेको कार्यालयले जनाएको छ ।
मस्यौदामा भएका विभिन्न प्रावधानको आलोचना, विवाद र असन्तुष्टिबारे अध्ययन केन्द्रित गरिएको सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । विशेष गरी चर्चामा रहेका सेवा समूह, ट्रेड युनियन र अनंकित कर्मचारीको बढुवाबारे सघन छलफल भइरहेको बुझिएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।
विकास र सुशासनको लक्ष्य पूरा हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो । “समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।”
अध्यक्ष दाहालले स्व गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गर्नुभयो । आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै दाहालले भन्नुभयो, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।” कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गर्नुभयो ।
सीके राउतसहित ३ जना पक्राउ
स्वतन्त्र मधेसका अभियान्त डा. सीके राउतसहित ३ जना पक्राउ परेका छन् । जिल्ला अदालत रौतहटमा तारेख बुझाउन खाएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको हो ।
राज्य विप्लवको मुद्दामा तारेखमा रिहा भएका राउत आइतवार जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले लोकान्तर डटकमलाई जानकारी दिए ।
जेठभित्र ९० प्रतिशत पूँजीगत खर्च गर्न निर्देशन
संसदको अर्थ समितिले आर्थिक वर्षको अन्त्यमा मात्र धेरै पूँजीगत खर्च हुने परम्परालाई निरुत्साहित गर्न सरकारलाई सचेत गराएको छ । आइतबार बसेको समितिको बैठकले मंसिरसम्म ६०, जेठमा ९० प्रतिशत र असारमा जम्मा १० प्रतिशत मात्र खर्च हुने गरी विकास निर्माणका कामलाई अघि बढाउन निर्देशन दिएको हो ।
समितिले असारको १५ गतेपछि भुक्तानी नगर्ने गरी काम अघि बढाउन पनि अर्थ मन्त्रालयलाई दिर्नेशन दिएको छ । समितिले असार १५ गतेसम्म मात्र विकास निर्माण गरे बापतको रकम भुक्तानी नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ। समितिले १५ दिनभित्र पँुजीगत खर्चका लागि सरकारले बनाएको कार्ययोजनासमेत पेश गर्न निर्देशन दिएको छ ।
प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ विधेयक स्वीकृत
प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरीसम्बन्धी विधेयकसहित १५ वटा विधेयक स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रहरीसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयकसहित विभिन्न मन्त्रालयले तयार पारेका अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले सञ्चार नीति परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) गर्न बन्ने विधेयक, प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयक पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन स्वीकृत गरेको छ ।
चारवटा एकीकृत बस्ती पुनःनिर्माण योजना स्वीकृत
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरण कार्यकारी समितिको आइतबारको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका–३ फुयाँल गाउँस्थित फुयाँल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याँडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको हो ।
बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२ गिराञ्चौरस्थित सामुदायिक पुनःनिर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–७ पुखुलाछीस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई समेत स्वीकृत गरेको हो ।
सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा
केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।
भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले उक्त कार्यालयको आइतबार उद्घाटन गर्दै सेवाग्राहीको अधिकारलाई प्राथमिकतामा राखेर यातायातसम्बन्धी विधेयक चाँडो प्रादेशिक संसदमा पेश गर्न लागिएको जानकारी दिए ।
नेपालद्वारा थाइल्याण्ड पराजित
मलेसियामा जारी आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले थाइल्याण्डलाई पराजित गरेको छ । क्वालालम्पुरको वायुमास ओभल मैदानमा आइतबार भएको खेलमा नेपालले थाइल्याण्डमाथि डिएल मेथडका आधारमा १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
सो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेल वर्षाले रोकिएपछि डिएल मेथडबाट नेपाललाई विजयी घोषणा गरिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रनमा समेटियो । थाइल्याण्डका कुनै पनि खेलांडीले दोहोरो रन जोडन सकेनन् । नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए ।