
काठमाडौं — इन्डोनेसियाको सुलावेसीमा १० दिनअघि आएको भूकम्प र सुनामीमा परी लगभग ५ हजारभन्दा बढी मानिस अझै पनि हराइरहेका छन् र उनीहरूको मृत्यु भइसकेको आशंका गरिएको छ ।
मृत्युको आधिकारिक संख्या १९ सय ४४ पुगेको छ तर अधिकारीहरूका अनुसार पालुका दुई सर्वाधिक प्रभावित स्थान बालारोआ र पेटोबोमा यो संख्या तीनगुणा बढ्न सक्ने देखिएको छ ।
गाउँहरूका भग्नावशेषमा खोजी गरिरहेका टोलीले हजारौं मानिस भुइँमा पुरिएको हुनसक्ने आशंका गरिएको छ । भूकम्पका कारण जमीन नै तरल भएपछि घरका घर माटोमुनि पुरिएका छन् ।
‘बालोरोआ र पेटोबोका प्रमुखहरूका प्रतिवेदनका आधारमा करीब ५ हजार व्यक्ति अझै फेला परेका छैनन्,’ इन्डोनेसियाको विपत निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताए ।
‘तैपनि अधिकारीहरूले यसलाई अझै पुष्टि गर्ने प्रयास गरिरहेका छन् र तथ्यांक संकलन गरिरहेका छन् । पहिरो, तरलीकृत जमीन वा माटोमुनि पुरिएका मानिसको यकिन संख्या पाउन सजिलो छैन ।’
इन्डोनेसियाको टापुमा दोहोरो विपतले प्रहार गरेको १० दिन बितिसक्दा जीवित व्यक्ति भेट्ने आशा सकिँदै गएको छ तर शरीर भेट्ने आधिकारिक मिति बिहीवारसम्म तोकिएको छ । त्यसपछि मानिसहरू हराएको र सम्भवतः मारिएको मानिनेछ ।
बलारोआमा एउटा पूरै सरकारी भवन भासिएर जमीनमुनि पसेको थियो । त्यहाँ एकहजार भन्दा बढी कर्मचारी परिवार बस्थे । माटो, धातु र फोहरको डंगुरमुनि रहेका शरीरको संख्या यकिन गर्न सकिएको छैन ।
द गार्डियनबाट