
सुर्खेत – ६५ वर्षीय नाम जयबहादुर योगीलाई वीरेन्द्रनगरको बसपार्कस्थित महिला प्रशिक्षण केन्द्रमा बसेको यसपालि ५ वर्ष पुग्यो । उनले विगत ५ वर्षमा कसैबाट केही पाउन सकेनन् ।
सुर्खेतमा २०७१ सालमा आएको बाढीले विस्थापित बनेका योगी अहिले बुढेसकालमा आइपुग्दा पनि ज्याला मजदुरी गर्नमै व्यस्त छन् । त्यो काम पनि उनले सहजै कहाँ पाउनु ? विभिन्न ठेकेदारसँग अनुनय विनय गर्छन् र ठेकेदारले तोकेको ज्यालामा काम गर्न बाध्य छन् ।
उनलाई कोही ठेकेदारले ३ सय रुपैयाँ ज्याला दिन्छन्, कसैले ४ सय दिन्छन् त कोही ठेकेदारले ठग्ने पनि गरेका छन् । उनलाई यो पालिको दशैंभन्दा पनि कोही दैव आएर तातो कपडा (ज्याकेट) दिन्छन् कि भन्ने आश छ ।
‘पहिलो वर्ष हामीले केही चामल र कपडा पाएका थियौं,’ २०७१ साललाई सम्झँदै उनले भने, ‘तर, हामी वृद्धलाई कोही कसैले केही दिँदैनन् ।’ उनको एक मात्र धोको छ – कम्तिमा सरकारले मुन्टो लुकाउने घर बनाइदिएको भए बरु नमरुञ्जेल ज्यालादारी गरेर नै पेट पाल्ने थिएँ ।
सोही बस्तीकी ३५ वर्षीया मनरुपा थापा मगरको त्रिपालभरी मुसाले दुलो पारेका छन् । ती मुसालाई खान भनेर सर्प बारम्बार आउने गरेका छन् । अहिलेसम्म उनले आफू बस्ने पालभित्र ५ भन्दा बढी सर्प मारिसकेकी छिन् । उनलाई कुन दिन सर्पले टोक्ला भन्ने चिन्ताले सताउन थालेको ५ वर्ष भयो ।
‘सरकारहरू फेरिए, व्यवस्था फेरियो, तर हाम्रोको त्रिपाल फेरिएन,’ उनले भनिन्, ‘लोकतन्त्रबाट संघीयता आयो, नयाँ संविधान लागू भयो । नयाँ ३ वटा सरकार बने । तर, बाढीपीडित बस्तीको मुहार फेरिएन ।’
नयाँ सरकार आएपछि उनलाई काम पाउन पनि गाह्रो भएको छ । ‘खोलामा गएर ढुंगा, बालुवाको काम गर्न पाइँदैन । नगरपालिकाले रोक्का गरेको छ । अहिले ४ महिना भयो, न काम छ, न माम छ, न कसैले दाम नै दिएको छ,’ उनले भनिन्, ‘सरकारले या त राम्ररी काम गर्ने, ज्याला मजदुरी गर्न दिएको भए वा घरजग्गा मिलाई बास व्यवस्थापन गरिदिएको भए केही चाहिन्थेन ।’ दशैं त उनलाई विगत ५ वर्षदेखि नै आएको छैन ।
बाढीपीडित पवित्रा नेपालीलाई टाइफाइड भएको छ । पतिले दैनिक ज्यालादारी गरेर ल्याएको रकमले उनको उपचार भइरहेको छ । उनले टाउकोको सिटीस्क्यान समेत गरेकी छन् । ५ दिनदेखि बिरामी भएकी उनले दशैंका लागि भनेर जम्मा गरेको २–४ रुपैयाँ उपचार गर्न पनि पुगेन ।
कल्पना परियारका ३ सन्तान छन् । उनका पति र उनी दुवै जनाले ज्यालादारी गरेर घर खर्च चलाउँदै आएका छन् । उनका लागि दशैंतिहार या अन्य पर्व आए कि गए केही महत्व हुँदैन । बस उनलाई काम चाहिन्छ, जहाँ हुन्छ ज्याला भनेपछि उनीहरू ९ बजे छोराछोरीलाई विद्यालय पठाउँछन् र ज्यालादारीमा निस्कन्छन् । उनले ज्याला पाएको दिन पछि र उनको कमाइ १ हजार २ सय रुपैयाँ हुन्छ भने कहिलेकाही हप्तौंसम्म काम गर्न नै पाउँदैनन् ।
ज्याला नपाएको दिन उनलाई साँझको खाना नै रुच्दैन । भोलिका लागि के खाने भन्ने चिन्ताले सधैं सताउने गरेको उनले बताइन् । प्रदेश सरकारका केही व्यक्ति आएर सोधखोज गर्ने र तथ्यांक लिने काम मात्रै गरेको उनले बताइन् ।
‘तिनीहरूका कुरा सुनेर चिसो अगाडि नै नयाँ घर पाउँछौं कि भन्ने लागेको थियो । तर, चिसो शुरू भइसक्यो अझै कति वर्ष यहाँ बित्ने हो थाहा छैन,’ उनले भनिन्, ‘सरकारले हामीलाई घरबासको व्यवस्था गरिदिएको भए बरु श्रीमानलाई विदेश पठाएर भएपनि वा भारत गएर भएपनि छोराछोरीलाई राम्रो शिक्षा दिने रहर पूरा गर्थ्यौं ।’
उनले पहिले–पहिले विभिन्न संस्था बस्तीमा आउने र चामल, लुगाकपडा दिएर जाने गरेको सम्झिइन् । ‘अहिले त आँगनमै प्रदेश सरकार छ भन्छन्, खै हामीलाई केही आभास नै भएन । सरकार गरीब दुःखीका लागि हुन्छ भन्थे । तर, हाम्रो लागि कस्तो सरकार आउँला, हेर्दाहेर्दै थाकिसक्यौं ।’