२३ असार २०८३, मंगलबार

खेलकुद विधेयकमा सांसद्को असन्तुष्टि, संघीय कानून नआउँदै ल्याउँदा विवादको सम्भावना

खेलकुद विधेयकमा सांसद्को असन्तुष्टि, संघीय कानून नआउँदै ल्याउँदा विवादको सम्भावना

विराटनगर– एक नम्बर प्रदेशसभामा पेश भएको प्रदेशको खेलकुदको व्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर सैद्धान्तिक छलफलमा छ । तर, सदनमा पेश भएको विधेयकको बारेमा सांसद्हरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अवस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् ।

प्रहरी प्रशासन सम्बन्धी विधेयक प्रदेश नम्बर २ मा अलपत्र अवस्थामा रहेको बेला त्यस्तै गरी विधेयक ल्याइएकोले यो बिषय सोचनिय रहेको प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले बताए । उनले विधेयकलाई संघको कानून बनेपछि मात्रअघि बढाउन सुझाव दिए । केन्द्रको संरचना अहिले पनि संचालनमा रहेका बेलामा प्रदेशको ऐन आएपछि कसरी अघि बढ्ने भन्ने अन्योल हुने भएकाले विधेयक पास भएर गएपछि विवाद निम्त्याउन सक्ने उनले बताए ।

विधेयकको सैद्धान्तिक छलफलमा बोल्दै ओमप्रकाश सराबगीले विधेयक आएपछि प्रदेश र संघबीचको तारतम्य नमिलेर भोलि खेलकुदको अवस्था नै विवादित वा विभाजित हुने हो कि भन्ने चिन्ता उत्पन्न गराएको छ । एक जिल्ला एक खेलकुद समिति रहने भन्ने विधेयकमा उल्लेख गरिएको छ । 

तर, अहिलेको समिति राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको र अहिले प्रदेशबाट गठन हुने समितिले पनि त्यँही अनु्रुपको काम गर्ने भएकोले  खेलकुदको विकास भन्दा पनि विवाद निम्त्यायो भने समस्या आउन सक्ने र खेल नै प्रभावित हुनसक्ने उनको तर्क छ । 

सांसद् कुल प्रसाद साम्बाले प्रदेश र संघको साझा अधिकारसूचिमा रहेको खेलकुदको अधिकारलाई संघसँग बाँझिने गरी कानून ल्याउन नहुने तर्क गरे । यसलाई अझ धेरै गृहकार्य गरेर ल्याउनु पर्ने अवस्थामा त्यसो नगरिएको हो कि भन्ने लागेको उनले बताए । 

४४ दफा सहित ल्याइएको खेलकुदको व्यवस्था गर्न बनेको विधेयकमा एक अधिकार सम्पन्न बोर्ड गठन गर्ने उल्लेख गरिएको छ । अधिकार सम्पन्न बोर्ड गठनको कुरालाई सांसदहरुले सकारात्मक भनेका छन् । सांसद एकराज कार्कीले ३ निर्वाचन क्षेत्र भन्दाबढी भएका जिल्लामा २ समिति भनेर ल्याइएकोले त्यसले विवाद निम्त्याउने बताए ।

एक जिल्लामा दुई  खेलकुद विकास समिति हुन नहुने तर्क उनको छ । सांसद कुसुम श्रेष्ठले विधेयकमा आएको खेलकुद विकास बोर्डको अवधारणा राम्रो भएपनि बोर्डमा कर्मचारी राखेको देखिएन त्यसमा विज्ञताको रुपमा कर्मचारीलाई पनि राख्नु पर्ने बताईन् । उनले स्थानीय तहस्तरीय खेलकुद विकास समितिहरु गठन हुनु पर्नेमा कसरी ३ निर्वाचन क्षत्रे भन्दाबढी भए त्यो भन्दा बढी समिति भन्ने आयो ? त्यसले विवाद निम्त्याउने तर्क गरिन् । 

छलफलमा सुयर्माराज राईले खेलकुदको विकासका लागि ल्याउन खोजिएको विधेयक संघीय ऐनसँग बाँझिएको अवस्थामा समस्या हुने भएकोले संघीय ऐन नबनेकोले ऐन आएपछि ल्याएको भए प्रभावकारी हुनेमा तर्क गरे ।

salt training

कमेन्ट गर्नुहोस्