काठमाडौं, १५ फागुन-कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको छ । सभापति देउवाले पार्टीलाई एकल ढंगबाट सञ्चालन गरेको ठहर गर्दै पौडेल समूहले तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको हो, आजको राजधानीमा खबर छ ।

शनिबार बिहान महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षधर नेताहरूको बैठकले केही दिनअघि पार्टीका तर्फबाट राजदूत सिफारिस गरिँदा पनि सभापति देउवाले मनोमानी गरेको ठहर गरेको छ । बैठकले सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक तत्काल नबोलाए हस्ताक्षर संकलन अभियान गर्ने निर्णयसमेत गरेको छ । बैठकले पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न माग गर्दै तत्काल पार्टी केन्द्रीय समितिको बैठक बोलाउन सभापति देउवासँग लिखित रूपमा माग गर्ने निर्णय गरेको हो ।
‘पार्टी सञ्चालन, सरकार सञ्चालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्नुपर्छ, सभापतिको एकलौटी रहनुहुन्न,’ बैठकको निष्कर्ष छ । पार्टीको साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि पौडेल पक्ष सभापति देउवाप्रति निकै आक्रोशित भएको हो । पौडेल पक्षधर नेताहरूले राजदूत नियुक्ति तथा प्रहरी प्रमुखको नियुक्तिमा व्यक्तिगत स्वार्थ जोडेर सभापति देउवाले पार्टीको साख गिराएको निष्कर्षसमेत निकालेका छन् ।
बैठकमा सहभागी पौडेल पक्षधर केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति देउवाले पार्टीलाई एकलौटी ढंगबाट विधानविपरीत र सहमतिविपरीत सञ्चालन गरेकाले खबरदारी गर्न बैठक बोलाउने निर्णय गरिएको जानकारी दिए ।
पौडेल पक्षले पार्टीको भ्रातृ संगठनको निर्वाचनमा पनि देउवा पक्षले एकल निर्णय लिएको भन्दै आपत्ति जनाउँदै आएको छ ।