२६ असार २०८३, शुक्रबार

मुख्यमन्त्री शाही भन्छन्– सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक

मुख्यमन्त्री शाही भन्छन्– सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा बुधवार आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताए ।

“हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ”, मुख्यमन्त्री शाहीले भने, “मुलुकको विषम घडीमा यो विज्ञता स्वयम्सेवीसमेत बन्नुपर्दछ ।” मुख्यमन्त्री शाहीले अगाडि भने, “हाम्रो विज्ञतालाई पावरप्वाइन्टमा होइन, अब प्रमाणित गरेर देखाउनुपर्दछ ।” मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनीकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाए ।

विपद् जोखिम न्यूनीकरण क्षेत्रका विज्ञ डा गङ्गालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनीकरण गर्न सरकारले रणनीतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिए । विश्वको भूकम्प जोखिममा ११औँ, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेर मात्र संरचना निर्माण गरिनुपर्ने उनको भनाइ थियो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माणमा प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री विमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्