२४ असार २०८३, बुधबार

कर्णाली सरकारको छेपारे प्रवृत्ति : हिजो सरापेका आईएनजीओसँग आज हात पसार्दै

असोज २४, २०७५
कर्णाली सरकारको छेपारे प्रवृत्ति : हिजो सरापेका आईएनजीओसँग आज हात पसार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको केही महिनाभित्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई गरीब बनाउने गैरसरकारी संस्था (एनजीओ) र आईएनजीओ रहेको सार्वजनिक कार्यक्रममै बताएका थिए ।

उनले विभिन्न सार्वजनिक मञ्चमै कर्णालीमा आईएनजीओ र एनजीओलाई काम गर्न नदिने भाषण समेत गरे । कर्णालीवासीलाई चाउचाउ खान सिकाउने आईएनजीओ र एनजीओ भएको दाबी गरे । एनजीओ र आईएनजीओले जनतामा गरीब मानसिकता जागृत गराइदिएको उनको दावी थियो ।

तर, अहिले अवस्था फेरिएको छ । मुख्यमन्त्री शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई आईएनजीओको सहारा चाहिएको छ । कर्णालीको विकासका लागि प्रदेश सरकारले अहिले गैरसरकारी संस्थाको साथ खोजिरहेको छ ।

‘कहिले आईएनजीओ र एनजीओ लखेट्ने भन्छन्, कहिले तिनैको खुट्टा ढोग्न जान्छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक राजनीतिकर्मीले भने, ‘मन्त्री र सरकारको यो द्वैध चरित्रले कर्णालीवासीलाई आश्वासन दिनेबाहेक अन्य केही गर्न सक्ने छैन ।’ उनले सरकारका मन्त्रीले बोलीमा लगाम लगाउनुपर्ने र बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

कर्णाली प्रदेश सरकारले सोमवार डीएफआईडी, वल्र्ड बैंक, युरोपियन युनियन र यूएनडीपीसँग बृहत् छलफल गरेको छ । छलफलमा डीएफआईडी नेपाल प्रमुख डा. रुरीक मार्सडेन, विश्व बैंक प्रमुख फारिस हदाद जेभरस, ईयूका प्रमुख ओभिडियु माइक र यूनएनडीपीका प्रतिनिधि तेजराज दाहाल लगायतका दातृ निकायका प्रतिनिधिसँग कर्णाली सरकारले विकास निर्माणमा साझेदारी गर्न प्रदेश सरकारले प्रस्ताव पेश गरेको छ ।

प्रस्तावमा दातृ निकाय सकारात्मक भएको मंगलवार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भूमि, व्यवस्था योजना तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता विमला केसीले छलफल अत्यन्तै उत्साहमूलक र सफल भएको निष्कर्ष सुनाए । मन्त्री द्वयले बैठक उपलब्धिमूलक भएको समेत दाबी गरे ।

‘हामीले गरेको छलफलमा दातृ निकायका प्रतिनिधिले प्रदेश सरकारले चाहेको पूर्वाधार विकासका लागि तत्कालका लागि प्राविधिक जनशक्तिको रुपमा विज्ञ बैंक उपलब्ध गराउने र सो विज्ञ बैंकले योजना बैंक बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ,’ मन्त्री ज्वालाले भने, ‘त्यसपछि मात्रै हामीले आवश्यकताका आधारमा लगानी सम्मेलन आयोजना गरेर विकास निर्माणका कामहरू गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्