
काठमाडौं — अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले इन्डोनेसियाको बालीका चलिरहेको एक महत्त्वपूर्ण बैठकमा अमेरिका र चीनलाई विश्व व्यापार संगठनको नियमअनुसार व्यापार गर्न सल्लाह दिएका छन् ।
यी दुई संस्थाका प्रमुखहरूले बिहीवार अमेरिका र चीनलाई नियममा हिँड्न सल्लाह दिए । चीनको सूचना प्रविधि विकास रणनीतिका सम्बन्धमा चलेको विवाद अन्त्य गर्न पनि उनीहरूले भनेका छन् । विवाद कायम रहँदा गर्दा वैश्विक अर्थव्यवस्थामा लामो समयसम्म हानि पुग्ने उनीहरूको भनाइ छ ।
मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्डले अमेरिका र चीनलाई ठण्डा दिमागले सोच्न र संसारको व्यापार प्रणालीलाई व्यवस्थित राख्न मद्दत गर्नुपर्ने बताएकी छन् ।
लेगार्ड र विश्व बैंकका अध्यक्ष जिम योङ किमले दुई संस्थाको वार्षिक बैठकमा फरक फरक विषयमा विचार राखेका थिए । बैठकमा संसारका धेरै देशका अर्थमन्त्री र केन्द्रीय बैंकले भाग लिइरहेका छन् ।
लेगार्डले दुवै देशका तर्फबाट एकअर्कामाथि लगाइएको अतिरिक्त शुल्कबाट अहिलेसम्म धेरै क्षति नभएको तर अन्य देशलाई यसबाट हानि पुग्ने सम्भावना रहेको बताइन् ।
चीनले आधुनिक प्रविधिलाई अनुचित तरिकाले जुटाएर विदेशी कम्पनीहरूलाई नोक्सान गराउने नीति लिएको अमेरिकाको गुनासो छ ।
एजेन्सी