काठमाडौं — ज्ञान र बुद्धिमत्ता सबैलाई सजिलै प्राप्त हुँदैन । यसका लागि धेरै मेहनत गर्नुपर्छ । सोचको क्षमताले अरूलाई प्रभावित गर्नु त्यति सजिलो छैन ।

हामी यहाँ बुद्धिमान् र विद्वान् मानिसका केही आनीबानी बताउँदैछौं जसलाई अपनाउनुभयो भने तपाईंमा पनि सकारात्मक परिवर्तन आउन सक्छ ।
संसारलाई हेर्ने दृष्टिकोण सबैको फरक फरक हुन्छ । अर्काको दृष्टिकोण खराब अनि आफ्नो चाहिँ राम्रो भन्नुभयो भने तपाईं बुद्धिमान् मानिस होइन । बुद्धिमान् मानिसहरू अरूलाई हेर्न अनि दृष्टिकोण फराकिलो पारेर नयाँ चीज खोज्न
समय बिताउँछन् ।
कुनै पनि कुरा सिक्नका लागि उत्सुकता हुनु बुद्धिमानीको लक्षण हो । कुनै बच्चाहरू खेलौनालाई लामो समयसम्म साँचेर राख्छन् अनि कुनै चाहिँ भोलिपल्टै पोस्टमोर्टम गरिदिन्छन् । पछिल्लो वर्गका बच्चाहरूमा उत्सुकता धेरै हुन्छ र उनीहरू कारण पत्ता लगाउन रुचि लिन्छन् । यस्तो जिज्ञासाले नै बुद्धि बढाउँछ ।
लगातार अभ्यास र कोशिश गर्दा हरिलट्ठक पनि विद्वान् बन्न पुग्छ । अभ्यासले नै मानिसलाई पर्फेक्ट बनाउँछ । अभ्यास गर्ने बानीले पनि विद्वत्ता झल्काउँछ ।
जानकारीलाई उचित तरिकाले प्रस्तुत गर्नु पनि बुद्धिमानीको लक्षण हो । बुद्धिमान् मनुष्यले जानकारीको क्रमलाई सजाएर राख्नछन् अनि चाहिएकै बेलामा खोजिदिन्छन् । बुद्धि कम भएकाहरू चाहिँ आँकडालाई बेकार ठानेर
बेवास्ता गर्छन् ।
आफूले कति जानेको छु भनेर परीक्षण गराइरहनुपर्दछ । तपाईंको जानकारी गलत छ र परीक्षण गराउनुभएको छैन भने यही गल्तीलाई प्रचार गर्दै हिँड्न सक्नुहुन्छ ।
बुद्धिमान् मनुष्यको खुबै आलोचना हुन्छ । बुद्धिहीनहरूले बुद्धिमानको आलोचना गर्ने ठाउँ भेटेनन् भने निजी जिन्दगीका कुरा उक्काउन थाल्छन् । तर बुद्धिमान् मनुष्यले कहाँ कति के बोल्ने थाहा पाउँछन् ।
बुद्धिमान् मनुष्यले भविष्यको योजना बनाउँछन्, आफ्नो मूल्यमान्यतामा टिकेर बस्छन्, आफ्नो कमजोरी र सीमाहरू चिन्छन् अनि कहिल्यै कुनै मौका गुमाउँदैनन् ।
माथि बताइएका यी कुरा अपनाउनुभयो भने तपाईं पनि बुद्धिमान् बन्न सक्नुहुन्छ ।
एजेन्सीको सहयोगमा