
काठमाडौं — अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले मोनिका लेविन्स्कीसँग सम्बन्ध बनाउँदा उनी वयस्क रहेकी त्यसैले बिलले कुनै अपराध नगरेको हिलारी क्लिन्टनले बताएकी छन् ।
सीबीएस टीभीको सन्डे मर्निङ कार्यक्रममा बोल्दै उनले यसो भनेकी हुन् । कार्यक्रम सञ्चालक टोनी डोकोउपिलले ह्वाइट हाउसमा इन्टर्न गर्न आएकी मोनिकासँग सन् १९९० को दशकमा बिलले प्रेमसम्बन्ध बनाएको विषयमा प्रश्न गरेका थिए ।
त्यतिखेर उनले लेविन्स्कीसँग यौन सम्बन्ध नरहेको भनी ढाँटेका थिए । यो काण्डपछि क्लिन्टनविरुद्ध महाअभियोग लगाउने कुरा थियो तर उनलाई अन्तिममा सफाइ दिइयो ।
यो काण्ड चलुन्जेल हिलारीले पतिको बचाउ गरिरहिन् र त्यसलाई दक्षिणपन्थीहरूको षड्यन्त्र समेत भनिन् ।
तर बिलले झूटो बोलेको प्रमाणित भएपनि कुनै गल्ती नगरेको हिलारीको विश्वास छ । उनले त्यतिखेर राजीनामा दिनुपर्थ्यो कि पर्दैनथियो भनी सोधिएको प्रश्नमा हिलारी पटक्कै पर्दैनथियो भनिन् ।
डोकोउपिलले मोनिकासँग बिलको सम्बन्ध शक्तिको चरम असन्तुलन रहेको भनी कुरा अघि बढाउन चाहे ।
तर क्लिन्टनले मोनिका त्यतिखेर वयस्क भइसकेको बताएर तत्कालै ट्रम्पले गरेका यौन आक्रमणका कुरा झिकेर अन्तवर्नर्तालाई अर्को दिशातिर मोड्न खोजिन् ।
अहिले महिलाविरुद्धको दुर्व्यवहारका विषयमा मीटू अभियान चलिरहेको बेलामा दशकौंअघि गरिएका दुर्व्यवहारको पनि चर्चा चल्ने गरेको छ । यस्तोमा बिल क्लिन्टनले शक्तिको दुरुपयोग गरी मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध
राखेको कुरालाई उनकै श्रीमतीले चाहिँ प्रतिरक्षा गरिरहेको देखिन्छ ।
बिल क्लिन्टनविरुद्ध चारजना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
एजेन्सी