
काठमाडौं –यतिबेला देश नै वडादशैंको रमझममा छ । सर्वसाधारण नागरिकदेखि राजनीतिज्ञ, कर्मचारी, कलाकार, पत्रकार लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध सबैलाई दशैं लागेको छ ।
सार्वजनिक कार्यक्रम, भेटघाट र सामाजिक सञ्जालमा शुभकामना दिन भ्याइँनभ्याइँ छ । गृहजिल्ला बाहिर रहेकाहरू घर फर्किने क्रम जारी छ ।
काठमाडौं उपत्यकाबाट २५ लाखमा बढी मानिस बाहिरिएका छन् भने देश बाहिर रहेका हजारौं नागरिक घर फर्किरहेका छन् । खाद्यान्न, लुगाकपडा किन्नेको बजारमा भीड छ भने घरहरू रंगरोगन गरी चिटिक्क पारिएका छन् ।
सरकारको शुभकामना
दशैं आएसँगै शुभकामना आदानप्रदानका लागि दैनिक सार्वजनिक कार्यक्रम भइरहेका छन् । यस पटकको शुभकामना समृद्धिमा केन्द्रीत छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले देशविदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेको छ । बैठकले सुख, शान्ति र समृद्धिको कामना गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
शीर्षको व्यस्तता
दशैंको रमझम राजनीतिक दलका शीर्ष नेतालाई पनि लागेको छ । शुभकामना दिनका लागि गरिएका कार्यक्रममा सहभागी हुन उनीहरूलाई भ्याइँनभ्याइँ छ ।
काठमाडौंमै दशैं मनाउने तयारीमा रहेका शीर्ष नेताले आफन्त, शुभेच्छुक तथा कार्यकर्तासँग भेटघाट बाक्लो बनाएका छन् । मन्त्रीदेखि राजनीतिक दलका नेतालाई दैनिक दर्जनौं कार्यक्रममा सहभागी हुनैपर्ने बाध्यता छ ।
पुत्र प्रकाश दाहालको निधनका कारण दशैंमा टीका नलगाएपनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा सहभागी भएर शुभकामना दिएका छन् ।
पूर्वमन्त्री तथा कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण चियापान कार्यक्रम पछाडि सोरेको नेपाली कांग्रेसका नेताले पनि सार्वजनिक कार्यक्रममा सहभागी भएर शुभकामना दिइरहेका छन् ।
नेकपाको प्राथमिकता
अघिल्लो दशैंको फुर्सदमा वाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले यस वर्षको दशैंलाई पनि पार्टी एकीकरणको बाँकी प्रक्रिया टुंग्याउन प्रयोग गर्ने तयारीमा छन् ।
पार्टी सत्तामा पुगेपछि कार्यव्यस्तताका कारण एकीकरण सम्बन्धी काममा समय दिन नभ्याएको बताउँदै आएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तल्ला कमिटी एकीकरणको मोडालिटी तय गर्न दशैंको फुर्सदिलो समयलाई उपयोग गर्ने तयारीमा छन् ।
कसको दशैं कहाँ ?
प्रधानमन्त्री केपी शर्मा ओली यस पटक १ दिन मात्र झापा पुग्ने र बाँकी समय काठमाडौंमै बस्ने तय भएको छ । टीकाको दिन प्रधानमन्त्री ओलीले बालुवाटारमै टीका लगाउने बताइएको छ ।
नेकपाका अर्का अध्यक्ष प्रचण्डले पुत्रशोक परेकाले दशैंमा टीका लगाउने छैनन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दशैं काठमाडौंमै हुने भएको छ । सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमै दशैं मनाउने तय भएको निजी सचिवालयले जनाएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको दशैं पनि काठमाडौंमै बित्ने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दशैंमा भारतका केही प्रसिद्ध धार्मिक स्थलको भ्रमणमा जाँदैछन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको दशैं काठमाडौंमै हुने भएको छ ।