काठमाडौं — अल्लाहबाद वा इलाहाबादलाई मंगलवारदेखि प्रयागराज भन्न थालिने भारतको उत्तर प्रदेशका मन्त्री सिद्धार्थ नाथ सिंहले बताएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले नाम परिवर्तन गर्ने योजनालाई स्वीकृति दिएको हो ।
मुख्यमन्त्री योगी आदित्यनाथले केही दिनअघि यो ऐतिहासिक शहरलाई जनताको इच्छामुताबिक प्रयागराज भनिने घोषणा गरेका थिए ।
कुम्भमेला शुरू हुनुअघि नयाँ नाम राख्नका लागि आदित्यनाथ उत्सुक थिए । प्रयागमा गंगा, यमुना र पौराणिक नदी सरस्वतीको मिलन हुन्छ र हरेक १२ वर्षमा त्यहाँ कुम्भमेला लाग्छ ।
प्रयागराज नाम प्राचीन ग्रन्थहरू ऋग्वेद, महाभारत र रामायणमा उल्लेख भएको मन्त्री सिद्धार्थ सिंहको भनाइ छ ।
नाम परिवर्तनमा मिश्रित प्रतिक्रिया आएका छन् । आलोचकहरूले विगतका केही वर्षमा थुप्रै ठाउँको नाम परिवर्तन गरिएको तर वास्तविक परिवर्तन चाहिँ केही पनि नभएको बताएका छन् ।
एजेन्सी