
धनुषा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा मंगलवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको छ ।’
मन्त्री महासेठले ४ वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी ४ वर्षभित्र पूर्वपश्चिम रेल सञ्चालन हुने बताए ।
हुलाकी सडक निमार्णको कार्य पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी १ वर्षभित्र पूरा हुने धारणा व्यक्त गरे ।
मधेशको अधिकारका लागि राजपा प्रतिबद्ध : भण्डारी
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले मधेश र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
राजपा नेपालले मंगलवार जनकपुरमा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले भने, ‘मधेशको हकअधिकार प्रवद्र्धनका लागि अहिले संविधान संशोधनका लागि दबाब दिनुपर्ने आवश्यकता छ ।’
नेता भण्डारीले मधेशी जनताको चाहना बमोजिम संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै यसको लागि सरकार आनाकानी गरिरहेको गुनासो गरे । २ नम्बर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले मधेशको स्वाभिमान, सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उपप्रमुख रीता झा, हंसपुर नगरपालिकाका उपप्रमुख रेणु झा लगायतले मधेशलाई अधिकार सम्पन्न बनाउन राजनीतिक नेतृत्वले गम्भीर हुनुपर्नेमा जोड दिए ।