
पशुपतिनगर – इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा १ वृद्धको माछा मार्ने क्रममा मृत्यु भएको छ ।
माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो । मंगलवार दिउँसो माछा मार्न खोलामा हिँडिरहेका ७२ वर्षीय वृद्ध राई घर नफर्किएपछि परिवारले मंगलवार रातिदेखि खोजी शुरू गरेका थिए ।
रातको समयमा खोज्दा कतै नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका आफन्त र प्रहरीको टोलीले बुधवार बिहानदेखि खोजी गर्दा सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए ।
दैनिकजसो माछा मार्न खोलामा जाने राई माछा मार्ने क्रममा खोलामा चिप्लिएर लडेपछि डुबेर मृत्युको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । खोलामा मृतक राईको टोपी र माछाको जाल फेला परेको प्रहरीले जनाएको छ ।
मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाममा लगिएको छ ।