
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ ।
नेपालकै सबैभन्दा बढी गर्मी हुने शहर नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरू गरिएको छ ।
भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो ४ वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षरोपण लगायत कार्यक्रम र अभियान शुरू गरिएका हुन् ।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेक समस्या सिर्जना हुने स्थिति आउने सम्भावनालाई दृष्टिगत गरी सरोकार पक्ष सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा विरुवा रोप्ने, त्यसको संरक्षण तथा सम्वद्र्धन गर्ने र सरसफाइलगायत चेतनामूलक कार्यक्रम भइरहेका छन् ।
प्रथम नगर सभाले नेपालगञ्जलाई वातावरणमैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक बिरुवा र एक वडा एक बाल उद्यान बनाउने योजना पारित गरेको थियो । सोही योजनाअन्तर्गत प्रथम चरणमा नेपालगञ्जको राँझादेखि सीमा क्षेत्रसम्म वृक्षरोपण भइरहेको छ ।
यसैगरी, नगरको सुर्खेत सडकखण्डका अधिकांश स्थानमा सामाजिक संघसंस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाबाट वृक्षरोपणको काम सम्पन्न भइसकेका छन् । अभियानलाई यहाँको क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघ, बी–गु्रप लगायत दर्जनौं संस्थाले सघाउँदै आएका छन् ।
जिल्ला वन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेत मार्गमा २१ लाख बराबरको ट्रि–गार्ड सहितको बिरुवा रोप्ने तयारी भइरहेको छ । सडकबीचको हरियाली क्षेत्रमा विभिन्न जातका ३ सय ५० बिरुवा रोपिने वन कार्यालयका निमित्त प्रमुख गणेश खड्काले जानकारी दिए । वृक्षारोपण अभियानमा कालिका कन्स्ट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि २ हजार ट्रि–गार्ड सहयोग गरेको छ ।
अभियानअन्तर्गत नगरका टोलटोलका सडक किनारमा छिट्टै्र बिरुवा रोप्न शुरू गरिने बताउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले ४ वर्षभित्र नगरलाई हरियाली शहर बनाइने जिकिर गरे ।
हरियाली अभियानअन्तर्गतकोे एक घर, एक बिरुवा रोप्नैपर्ने अनिवार्य व्यवस्थालाई भने अधिकांशले घर निर्माण गर्ने क्रममा पूर्णरुपमा अवलम्बन गरेको पाइएको छैन । यसको सूक्ष्म अध्ययन गरिने र नियम पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवासुविधाबाट समेत वञ्चित गर्न सकिने नगर प्रमुख राणाको भनाइ छ ।