
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालीहरूको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका प्रचुर प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै जनता र नेतृत्वको तीव्र इच्छाशक्ति एवम् कडा मेहनतबाट छोटो अवधिमै समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।
‘सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक कानून संरचना र योजना निर्माणमा सरकार लागिपरेको छ,’ उनले भने, ‘यसका लागि हाम्रा मौलिक परम्परा कला–संस्कृति चाडपर्वले एकताबद्ध भएर प्रदेश निर्माणमा अघि बढ्न पे्ररणा मिल्ने छ ।’
मुख्यमन्त्री शाहीले केन्द्रीकृत शासन प्रणालीको विकल्पमा जनअपेक्षाबमोजिम लागू भएको संघीय शासन प्रणालीलाई सफल पार्नसमेत सबैमा आग्रह गरे ।