
बैतडी – तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट १० लाख रुपैयाँ बढीको बन्दा निकासी भएको छ ।
२ महिनाको अवधिमा वडा नम्बर १ बाट १० लाख रुपैयाँ बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिए । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेतीतर्फ आकर्षित छन् ।
पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुष्करराज भट्टले बताए । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नम्बर १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।
किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेर लगायतले १ लाख रुपैयाँ बढीको बन्दा बिक्री गरेका छन् ।
अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवद्र्धन केन्द्रका प्रोपाइटर देवदत्त भट्टले बताए । अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।
प्रतिकिलो २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताए । बन्दा लगाउने किसानलाई वडा नम्बर १ को कार्यालय ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराइएको थियो ।
किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएका छन् । दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् ।